हेटौँडा । नेपाल नेत्रहीन संघको २८औँ वार्षिक साधारणसभा आइतबार हेटौँडामा सम्पन्न भएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले दृष्टिविहीन नागरिकको आत्मनिर्भर र सम्मानजनक जीवन सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सरकारी सेवा तथा सार्वजनिक संरचनालाई अपाङ्गमैत्री बनाउँदै दृष्टिविहीन नागरिकले आत्मनिर्भर जीवनयापन गर्न सक्ने आधार तयार गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । दृष्टिविहीन नागरिकको हक, अधिकार र क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री तामाङले शिक्षा, सीप, रोजगारी, प्रविधिमा पहुँच, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनेतर्फ प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।
दृष्टिविहीन नागरिकलाई सहयोग लिनुपर्ने व्यक्तिका रूपमा मात्र बुझ्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले अवसर र उचित वातावरण पाए दृष्टिविहीन नागरिकले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले दृष्टिविहीन नागरिक कमजोर नभई सम्भावनाले भरिएका व्यक्ति भएको बताउनुभयो । दृष्टिविहीन बालबालिकाले अन्य बालबालिकासरह शिक्षा प्राप्त गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै उहाँले विद्यालयमा ब्रेल लिपिका आवश्यक पाठ्यसामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी संघका अध्यक्ष शिशिर खनालले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अधिकार कटौती वा हनन गर्ने प्रयास भए संघ पुनः सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाल सरकारकी उपसचिव निरा अधिकारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष कमल विश्वकर्मा, मकवानपुर उद्योग वाणिज्य संघका सचिव कुलप्रसाद चौलागाईलगायतले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिको अधिकार र अवसर सुनिश्चित गर्न राज्यका सबै तहबाट प्रभावकारी पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल नेत्रहीन संघका अनुसार संघका शाखा सातवटै प्रदेश, ४६ जिल्ला र ५३ पालिकामा स्थापना भएका छन् । संघका देशभर २ हजार ५ सय २० जना साधारण सदस्य रहेका छन् ।

