Search
Close this search box.

भीमसेन महतको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महतले आफू कुनै समूह वा गुटको प्रतिनिधिका रूपमा।नभई पार्टी संगठनमा सुधारको आवश्यकता महसुस गरेर सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन्।

उनले कांग्रेसभित्र निर्वाचनका क्रममा समूह बन्नु स्वाभाविक भए पनि निर्वाचनपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्ने प्रवृत्तिले योग्य, सक्षम तथा लामो समयदेखि योगदान दिँदै आएका कार्यकर्ता अवसरबाट वञ्चित हुने अवस्था सिर्जना गरेको बताए।
महतले पार्टीमा जिम्मेवारी र अवसर योगदान, क्षमता तथा योग्यताका आधारमा निर्धारण हुनुपर्नेमा जोड दिए। निर्वाचनमा कुनै समूहको समर्थन लिएर पदमा पुगेपछि सोही समूहका नेताको निर्देशनअनुसार चल्नुपर्ने अवस्था आउने भन्दै आफू त्यस्तो राजनीतिक बन्धनमा बस्न नचाहेको उनको भनाइ थियो।
आफ्नो उम्मेदवारी घोषणा गर्न कार्यकर्ताबाट आएको निरन्तर दबाबसमेत महत्वपूर्ण कारण रहेको महतले बताए। सभापति निर्वाचित भए पार्टीमा स्थायी गुटको अभ्यास नगर्ने उनले प्रतिबद्धता जनाए।
आफ्नो उम्मेदवारीलाई आगामी स्थानीय तहको निर्वाचन लक्षित अभियानका रूपमा नबुझ्न आग्रह गर्दै महतले अहिले आफ्नो मुख्य प्राथमिकता पार्टीको आन्तरिक संरचना र संगठनात्मक अभ्यासमा सुधार ल्याउनु रहेको स्पष्ट पारे।
कांग्रेसलाई जनताको बदलिँदो आकाङ्क्षासँग जोड्न नसके पुराना राजनीतिक दलहरू कमजोर बन्दै गएको अवस्थाबाट कांग्रेससमेत प्रभावित हुन सक्ने उनले बताए। पार्टीलाई समयअनुकूल बनाउँदै संगठनलाई थप प्रभावकारी र कार्यकर्तामैत्री बनाउन आफूले उम्मेदवारी दिएको महतको भनाइ थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan