Search
Close this search box.

चुरियामाईलाई टाइब्रेकरमा हराउँदै कमाने क्वाटरफाइनलमा

हेटाैँडा- चुरियामाई युवा क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै कमाने फुटबल एकेडेमी चौथो चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

​सोमबार भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा कमाने ३-० ले विजयी भयो ।

​खेलमा सुरुआती अग्रता भने कमानेले नै लिएको थियो । १२ औं मिनेटमा सुजन लामाले गोल गर्दै कमानेलाई १-० को अग्रता दिलाएका थिए । तर, चुरियामाईका युकेश सुवेदीले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

​टाइब्रेकरमा कमानेका प्रनित खत्री, आयुष शिलवाल र सुजन लामाले सहजै गोल गरे । अर्कातिर चुरियामाईका युकेश सुवेदीको प्रहार बाहिरियो भने सुदिप सापकोटाको प्रहार बारमा ठोक्किएर फर्कियो । समिर अर्यालको प्रहारलाई कमानेका गोलरक्षक अर्बिन बज्युले उत्कृष्ट बचाउ गरेपछि चुरियामाई टाइब्रेकरमा शून्यमै रोकियो ।

​प्रतियोगिता अन्तर्गत मङ्गलबार बागमती प्रदेश प्रहरी र पटिहानी इभेन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

​यही २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुर र चितवनका गरी १२ वटा क्लबको सहभागिता रहेको छ । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका वडा नं. ४ को मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

​प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार र विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक चैनपुर जेसीज मनहरीका कार्यकारिणी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नवराज रिजालले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan