Search
Close this search box.

चाडपर्व सुरक्षामा मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा । दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ। चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा र बढ्दो सवारी चाप व्यवस्थापनका लागि प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको छ। बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढ्न सक्ने भएकाले राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ।
यात्रुलाई सहज सेवा उपलब्ध गराउन जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती कक्षमार्फत बढी भाडा असुली नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकले यात्राका क्रममा भोग्न सक्ने समस्या समाधानमा सहजीकरण गरिने प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ। जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिनुका साथै मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली र पैदल गस्तीसमेत परिचालन गरिएको छ।
चाडपर्वका बेला बजार क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको छ। बैंक तथा वित्तीय संस्थामा हुने आर्थिक कारोबारलाई ध्यानमा राख्दै सम्भावित चोरी र लुटपाट रोक्न निगरानी बढाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

त्यसैगरी कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमन गरिने भएको छ। धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि आवश्यक प्रहरी परिचालन गरिएको छ।

सवारी दुर्घटना, सडक अवरोध तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ। परिचालित जनशक्ति अपुग हुने अवस्था आएमा थप प्रहरी परिचालन गर्न दुईवटा रिजर्भ टोलीको व्यवस्था गरिएको छ भने आकस्मिक अवस्थाको व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

रातमाटे, भैँसे, मनहरीलगायत जिल्लाका प्रमुख प्रवेश तथा निकासस्थलका साथै सिन्धुली र काठमाडौँ जोड्ने सडकखण्डमा सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ। इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत जिल्लाभर नियमित निगरानीसमेत गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan