Search
Close this search box.

गठबन्धन सरकार बन्ने बित्तिकै लालपुर्जा वितरण प्रक्रिया सुरु गर्छौँ: पुलामी

हेटौंडा–नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले गठबन्धन सरकार बन्ने बित्तिकै पहिलो प्राथमिकतामा लालपुर्जा वितरण प्रक्रियामा पहल गरिने बताएका छन् ।

मंगलबार बकैया गाउँपालिका वडा नम्बर २ स्थित तिनभंगालेमा आयोजित चुनावी सभामा बोल्दै छिन्तुले यस क्षेत्रमा अधिकांश जनता भूमिहिन भएकाले गठबन्धन सरकार बन्ने बित्तिक्कै आफुले लालपुर्जा वितरण प्रक्रियामा पहल गरिने दाबी गरे । उम्मेदवार छिन्तुले मुलुकको विकास र समृद्धि गर्ने जिम्मेवारी लोकतान्त्रिक बाम गठबन्धनकै भएकाले भ्रममा नपरी गठबन्धनको चुनाव चिन्ह रुख र गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न मतदातालाई आग्रह गरे । अहिले विभिन्न प्रलोभन देखाएर जनताको अधिकार लुट्न प्रतिगामीहरु सल्बलाएको भन्दै उनले यस्ता प्रतिगामीहरुलाई बेलैमा चिनेर परास्त गर्नुपर्ने बताए ।

उम्मेदवार छिन्तुले यहाँ सडक, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत क्षेत्रमा समस्या रहेको बताउँदै प्रदेश सरकारको पहलमा विकासको मूल फुटाउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै उहाँले मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र बुथ सुरक्षाका लागि तयारी अवस्थामा रहन गठबन्धनका युवाहरुलाई निर्देशन समेत दिए ।

गठबन्धनका बकैया वडा नम्बर २ का प्रचारप्रसार संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी बागमती प्रदेश सदस्य सुमन पाख्रिन, जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल र नेकपा एकीकृत समाजवादीका नारायण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan