हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी हाईस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चालकसहित ११ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जना रहेका छन्।
पहिचान खुलेका मृतकमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये ३४ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
त्यस्तै, तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो।
प्रहरीकाअनुसार माइक्रोबसमा चालकसहित १४ जना सवार थिए। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगे पनि हालसम्म ११ जनाको मात्रै सनाखत भएको छ। बाँकी दुई जनाको पहिचान खुल्न बाँकी छ।

