कहिले घाम, कहिले हुस्सु त कहिले अनुहारमै ठोक्किन आउने चिसो बतास। कतै हरिया घाँसे मैदान त कतै आँखैअगाडि आइपुगेजस्तो लाग्ने बादल। प्रकृतिका यिनै मनमोहक दृश्यसँग रमाउँदै बितेको शनिबारको पदयात्रा मेरा लागि अविस्मरणीय बन्यो। कार्तिक २१ गते शनिबार हेटौँडा हाइकर्सको आयोजनामा करिब ५५ जनाको समूह मकवानपुरको हात्तीसुँडे डाँडाचौरसम्म पदयात्रामा निस्किएको थियो। बिहान ६ः३० बजे दुईवटा बसमा हेटौँडाबाट प्रस्थान गरेको टोली भिमफेदी हुँदै सुपिङ पुगेको थियो। सुपिङमा खाजा खाएपछि सुरु भएको पैदल यात्रा करिब चार घण्टापछि झन्डै एक हजार ८०० मिटर उचाइमा रहेको हात्तीसुँडे डाँडाचौर पुगेर टुंगिएको थियो।
यात्रा सुरु भएदेखि नै मौसमको लुकामारी चलिरहेको थियो। केहीबेर घाम लाग्ने त केहीबेरमै हुस्सुले वरिपरि ढाक्ने क्रमले यात्रालाई थप रोमाञ्चक बनाइरहेको थियो। हरिया डाँडाकाँडा, घाँसे मैदान, चिसो बतास र चराचुरुङ्गीको चिरबिर आवाजबीच उकालो–ओरालो गर्दै अघि बढ्दा थकानभन्दा उत्साह बढी महसुस भइरहेको थियो। यो यात्राको सुन्दर पक्ष प्रकृतिसँगको सामीप्य मात्र थिएन, साथीहरूबीचको आत्मीयता पनि उत्तिकै विशेष थियो। बाटोमा नयाँ साथीहरूसँग परिचय, रमाइला कुराकानी र अनुभव आदानप्रदान भइरहेका थिए। कसैलाई उकालो चढ्न गाह्रो हुँदा अर्को साथीले झोला बोकिदिने, चिप्लिन खोज्दा हात समातेर सहयोग गर्ने र थकाइ लाग्दा हौसला दिने दृश्यले समूहभित्रको अपनत्व झल्काउँथ्यो। बाटोमा टाँसिने जुका निकाल्नसमेत एकअर्कालाई सहयोग गरिरहेका थिए।उमेर, पेसा र लिङ्ग फरक भए पनि सबैबीच समान व्यवहार, सम्मान र सहयोग थियो। यही वातावरणले यात्रालाई पारिवारिक जमघटको अनुभूति दिलाइरहेको थियो। हेटौँडा हाइकर्ससँग स्थापनाकालदेखि जोडिएका मिलन ढकालको उपस्थिति यात्रामा विशेष रह्यो। उमेरले परिपक्व भए पनि रमाइलो गर्ने स्वभावमा बालसुलभ उत्साह देखिन्थ्यो। उहाँको साथले अभिभावक र साथी दुवैको अनुभूति गरायो। त्यसैगरी, अगाडिबाट बाटो देखाउँदै सहभागीलाई हौसला दिने प्रदीप राईको भूमिका पनि उत्तिकै महत्वपूर्ण थियो। करिब चार घण्टाको पैदल यात्रापछि हात्तीसुँडे डाँडाचौर पुग्दा देखिएको दृश्य झनै मनमोहक थियो। टाढाबाट बतासिँदै आएको बाक्लो कुहिरो घाँसे मैदानतर्फ फैलिँदै थियो। त्यो दृश्यले सबैलाई रोमाञ्चित बनायो। कोही मोबाइलमा तस्बिर र भिडियो कैद गर्न व्यस्त थिए भने कोही चिसो बतासको आनन्द लिइरहेका थिए। थकाइले गलित भएका केही साथी घाँसे मैदानमै आराम गरिरहेका थिए। डाँडामा पुग्दा चिसोले शरीर छोइसकेको थियो। तर वरिपरिको प्राकृतिक सुन्दरताले यात्राको थकान क्षणभरमै बिर्साइदियो। बादल र बाक्लो हुस्सुले ढाकिएकाले यसपटक हिमाल भने देख्न पाएनौँ। यद्यपि, खुला घाँसे मैदान, हरियाली र नजिकैबाट बादल ठोक्किएर अघि बढेजस्तो लाग्ने दृश्यले मन मन्त्रमुग्ध बनाइरहेको थियो। त्यहाँ पुगेपछि सबैले आ–आफ्नो झोलामा बोकेर ल्याएको खाजा बाँडेर खायौँ। प्रकृतिको काखमा बसेर साथीहरूसँग खाजा बाँड्नु र बादललाई नजिकबाट नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न कठिन थियो। त्यतिबेला महसुस भयो, खुसी हुन धेरै खर्च र भौतिक सुविधा आवश्यक पर्दैन। आफ्नै ठाउँको एउटा सुन्दर डाँडा, केही आत्मीय साथी र प्रकृतिको साथ नै पर्याप्त हुन्छ। यस यात्रामा मलाई सबैभन्दा प्रभावित बनाएको अर्को पक्ष हेटौँडा हाइकर्सको अनुशासन र वातावरण संरक्षणप्रतिको जिम्मेवारी थियो। पदयात्राका क्रममा कसैले जथाभावी फोहोर फालेनन्। बाटोमा कसैले फोहोर छोडेको अवस्थामा पछाडि रहेका साथीले टिपेर आफ्नै झोलामा राख्ने अभ्यास रहेछ। हामीले पिएको पानीका बोतलदेखि खाजा खाएका प्याकेटसम्म सबै आफ्नै झोलामा राखेर हेटौँडा फर्कियौँ। प्रकृतिको सुन्दरता हेर्न जाने तर त्यही प्रकृतिलाई फोहोरले प्रदूषित बनाउने प्रवृत्तिको विपरीत हेटौँडा हाइकर्सले व्यवहारमै वातावरण संरक्षणको सन्देश दिएको देखियो। पर्यटकीय क्षेत्र सफा राख्ने जिम्मेवारी स्थानीयवासीको मात्र नभई त्यहाँ पुग्ने प्रत्येक व्यक्तिको पनि हो भन्ने महत्वपूर्ण पाठ यस यात्राले सिकायो। हेटौँडा हाइकर्सले करिब एक वर्षदेखि मकवानपुरका विभिन्न स्थानमा नियमित पदयात्रा गर्दै आएको छ। समूहको स्थापनाकालदेखि आबद्ध मिलन ढकालका अनुसार स्वास्थ्यलाई सक्रिय राख्ने, आफ्नै ठाउँका प्राकृतिक तथा पर्यटकीय सम्भावना अवलोकन गर्ने र थोरै खर्चमा घुमफिरको आनन्द लिने उद्देश्यले अभियान सुरु गरिएको हो। उनका अनुसार विद्यालय तथा कलेजमा अध्ययनरत युवादेखि विभिन्न उमेर र पेसाका व्यक्तिहरू पदयात्रामा सहभागी हुँदै आएका छन्। एकपटक समूहसँग जोडिएका सहभागीहरू पटकपटक यात्रामा फर्किने गरेका छन्। यसले पदयात्रा घुमफिरको कार्यक्रम मात्र नभई आपसी सम्बन्ध र आत्मीयता विस्तार गर्ने माध्यमसमेत बनेको देखाउँछ। मकवानपुर प्राकृतिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला हो। तर जिल्लाभित्रै रहेका धेरै सुन्दर स्थान अझै पर्याप्त रूपमा चिनिन सकेका छैनन्। यस्ता स्थानमा नियमित पदयात्रा सञ्चालन गर्दा स्थानीय भूगोल, संस्कृति र प्राकृतिक सम्पदाको पहिचान विस्तार हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्न सक्छ।
यो पदयात्रा अघिल्ला यात्राभन्दा केही फरक र विशेष रह्यो। प्रकृतिसँग रमाउने अवसरसँगै फरक उमेर, पेसा र विचार भएका मानिससँग नजिकबाट चिनिने मौका मिल्यो। नयाँ साथीका अनुभव सुन्न पाइयो, आपसी परिचय र आत्मीयता बढ्यो। यात्रामा एकअर्कालाई सहयोग गर्दा मानवीय सम्बन्धको वास्तविक अर्थसमेत महसुस भयो। बिहान हेटौँडाबाट सुरु भएको यात्रा साँझ करिब ६ बजे फर्केर टुंगियो। तर यात्राले दिएको अनुभूति भने लामो समयसम्म स्मृतिमा रहनेछ। हात्तीसुँडे डाँडाचौर, बादलसँगको साक्षात्कार, चिसो बतास, साथीहरूको हाँसो र एकअर्काप्रतिको सहयोगले यो यात्रालाई विशेष बनायो। हेटौँडा हाइकर्सको अभियानले स्वस्थ जीवनशैली, आन्तरिक पर्यटन, वातावरण संरक्षण र सामाजिक सद्भावलाई एकैसाथ जोडेको छ। महिला तथा पुरुष सहभागीबीच समान सम्मान, सहयोग र आत्मीयताको वातावरणले सामूहिक पदयात्रा सबैका लागि सहज र सुरक्षित हुन सक्छ भन्ने सन्देशसमेत दिएको छ। हात्तीसुँडे डाँडाचौरको यात्रा सकिए पनि त्यहाँका दृश्य र साथीहरूको आत्मीयता अझै मनमा ताजै छन्।

