हेटौँडा । हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेटअगाडि रहेको एक घरनजिकै जस्ताको ट्रसमा प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत अवस्थामा फेला परेका हुन्।
बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक गुरुङ गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोलका स्थायी बासिन्दा हुन्। करिब ३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत थिए।
प्रहरीले घटनास्थलबाट सुसाइड नोटसमेत फेला पारेको जनाएको छ। उक्त नोटमा उल्लेखित विषयवस्तुबारे भने प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
गुरुङको मृत्युको कारण खुल्न नसकेको र घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

