हेटौँडा। मकवानपुरको भीमफेदी–देउराली सडकखण्डमा १४ जनाको ज्यान जाने गरी भएको ईभी हाइस दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
दुर्घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय सिफारिस गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहनेछन्।
समितिलाई घटनाको स्थलगत अध्ययन, प्राविधिक पक्षको विश्लेषण तथा दुर्घटनाका सम्भावित कारण पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइनेछ। जिल्ला सुरक्षा समितिको बैठकबाट आवश्यक निर्णय गरी छानबिन प्रक्रिया अघि बढाइने प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा चालकको थकान, पर्याप्त विश्रामको अभाव, तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोकिएको हुनसक्ने आशंका गरिएको छ।
प्रजिअ अधिकारीका अनुसार दुर्घटनामा परेको ईभी हाइस राति अबेर काठमाडौँ पुगेको थियो। काठमाडौँबाट बिहान करिब २ बजे सर्लाहीका लागि छुटेको गाडी बिहान ५ः१५ बजे देउराली पुगेको र त्यसको करिब ३० मिनेटपछि बिहान ५ः४५ बजे चिसापानी नजिक दुर्घटनामा परेको थियो।
रातभर सञ्चालनमा रहेको सवारी साधन र चालकले पर्याप्त विश्राम नपाई पुनः लामो दूरीको यात्रा सुरु गर्नु दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रशासनको प्रारम्भिक आकलन छ। चालकले मोबाइलमा कुरा गर्दै सवारी चलाउनेजस्ता लापरबाहीका विषय पनि उठेको अधिकारीले बताउनुभयो ।
उहाँले सवारी साधनलाई निरन्तर सञ्चालनमा राख्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै चालक र सवारी दुवैलाई निश्चित समयको विश्राम आवश्यक हुने बताउनुभयो । यात्रुले पनि चालकले नियमविपरीत गतिविधि गरेको देखेमा तत्काल खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ।
दुर्घटनापछि यात्रुको पहिचान र सनाखतमा देखिने समस्याप्रति पनि प्रशासनले चिन्ता व्यक्त गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले टिकट काउन्टरमै यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था गरे पनि व्यवसायीले त्यसको प्रभावकारी कार्यान्वयन नगरेको अधिकारीले बताए। यात्रुको विवरण व्यवस्थित नहुँदा दुर्घटनापछि आफन्तको सम्पर्क र सनाखतमा कठिनाइ हुने गरेको छ।
त्यसैगरी, दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा लागू गरिएको टाइम कार्ड प्रणालीलाई काठमाडौँबाटै व्यवस्थित र अनिवार्य बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
भीमफेदी–देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै अधिकारीले सडकको अवस्था, सडक सुरक्षा संरचना, ट्राफिक सङ्केत, रोड फर्निचर तथा सम्बन्धित निकायको जिम्मेवारीसमेत छानबिनको दायरामा रहने बताउनुभयो ।
दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर बस्तीका रहेका छन्। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौँ पठाइएको छ भने अन्य तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
छानबिन समितिको प्रतिवेदनपछि दुर्घटनाको कारण र जिम्मेवार पक्ष पहिचान गरी आवश्यक थप प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।

