हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा यात्रुबाहक ईभी हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा हालसम्म १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन्। त्यस्तै, घाइते हुनेमा दुई बालक र तीन पुरुष गरी पाँच जना रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको समयमा गाडीमा चालकसहित १५ जना सवार रहेको खुलेको छ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा १० जना, सशस्त्र प्रहरी बलबाट १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना र नेपाली सेनाबाट ११ जनाको टोली परिचालन गरिएको थियो।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। घाइते तथा मृतकको पहिचान र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

