हेटौंडा- मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताएका छन् । विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएकोले सहकार्य गर्दै एमालेको चुनाव चिन्ह सूर्यबाट निर्वाचन लडेको भनाइ थियो ।
मंगलबार मकवानपुरको हेटौंडा-१४ मा भएको चुनावी सभामा बोल्दै थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्तिको सरकार बन्नुपर्ने आवश्यकता भएको उनले बताए ।
मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै थापाले भ्रष्टाचारलाई अन्त्य गर्न एमाले अध्यक्ष के पी ओलीको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताए ।
मकवानपुरको अपुरो बिकासको काम सम्पन्न गर्न पनि आफु चुनावमा होमिएको जानकारी दिए । थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा सँगै रहँदा धेरै राष्ट्रवादी र देशहितमा काम गरेको समेत स्मरण गरे । गठबन्धनको नाममा ब्रम्हलुट र कुशासनको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्तिलाई आगामी निर्वाचनमा विजयी गराउनु पर्नेमा थापाले जोड दिए ।
अहिले बिदेशी शक्तिको आडमा कठपुतली सरकार चलिरहेकोले यसलाई अन्त्य गरी एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बनाउन उनले आग्रह गरे । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर १ (ख) का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायतकाकाे सहभागिता रहेकाे थियाे ।

