Search
Close this search box.

मकवानपुरमा शान्तिपूर्ण मतदान, ५९ प्रतिशत मत खस्यो

हेटौंडा– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा मकवानपुरमा ५९ दशमलव ३ प्रतिशत मत खसेको छ । २ वटा संघीय र ४ वट प्रदेश निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १ लाख ७८ हजार २ सय ८२ मत खसेको हो ।

३ लाख ७ सय ३३ मतदाता रहेको मकवानपुरमा पुरुष ९२ हजार ८७७, महिला ८५४०० र अन्य ५ जना मतदाताले मात्रै निर्वाचन प्रक्रियामा भाग लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभर कुल ३ सय ६४ वटा मतदान केन्द्र स्थापना गरी मतदानको व्यवस्था गरिएको थियो । मकवानपुर क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलको १ सय ७२ वटा मतदान केन्द्र र क्षेत्र नम्बर २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र स्थापना गरी मतदान गरिएको थियो ।

क्षेत्र नम्बर १ मा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका थिए भने क्षेत्र नम्बर २ मा ९ वटा राजनीतिक दलका ९ जना र एक स्वतन्त्र गरी १० जना उम्मेदवार प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि प्रतिष्पर्धामा उत्रिएका थिए ।

निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । मकवानपुरमा मतदानको क्रममा कुनै अप्रिय घटना नभएको उनले बताए ।
मकवानपुरका सबै क्षेत्रको मत गणना हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणनाको तयारी भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मतदान केन्द्रहरुबाट राति अबेरसम्म मतपेटिका आइपुग्नेछन् ।

अधिकांश मतदान केन्द्र टाढा भएकाले सबै मतपेटिका आइपुग्न राति अबेर हुने र भोलि बिहान १० बजेपछि मात्र मत गणना गर्ने तयारी भएको निरौलाले बताए । निर्वाचनको मतगणनालाई सुरक्षित र विश्वसनीय बनाउन मतगणना कक्षमा तारजाली सीसीटीभी जडान गरिएको छ ।

मतगणनाका लागि प्रत्यक समूहमा अधिकृतस्तरको कर्मचारीसहित अन्य ५ जना कर्मचारी रहने गरी ४ वटा समूह बनाइएको छ । सुरुमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्यक्षतर्फको मतगणना गर्ने र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएपश्चात मात्रै समानुपातिकतर्फको मत गणना गर्ने तयारी गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan