Search
Close this search box.

बागमतीको मुख्यमन्त्रीमा बानियाँको लबिङ सुरु

हेटौंडा–लोकतान्त्रिक बाम गठबन्धनकै हितका लागि भन्दै वर्तमान प्रदेश सरकारको मुख्यमन्त्रीबाट ‘ब्याक’ हटेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले अबको मुख्यमन्त्री आफू हुनुपर्ने दावी पेश गरेका छन् । काठमाडौंमा पार्टीका शीर्ष नेताहरुसँग भेट गर्दै बानियाँले प्रदेशको अबको मुख्यमन्त्री आफूलाई बनाउन लबिङ थालेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर २ (२) बाट दोस्रो कार्यकालका लागि विजयी भएका बानियाँले बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार र आफू मुख्यमन्त्री हुनुपर्ने दावी पेश गरेका हुन् । यसअघि नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता समेत भईसकेका बानियाँ यसअघि नै मूख्यमन्त्री हुने सहमति भएको थियो । बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका राजेन्द्र पाण्डे मूख्यमन्त्री बन्ने र दोस्रो चरणमा बानियाँले चुनावी सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पाण्डे सहमतिबाट पछि हटेपछि केन्द्रीय गठबन्धन जोगाउन बानियाँलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै ‘व्याक’ गराएर चुनाव पछि बन्ने गठबन्धन नेतृत्वको प्रदेश सरकारको मूख्यमन्त्री बन्ने तयारी थाल्न भनेका थिए ।

पछिल्लो चरणमा बानियाँले प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश सभापति एवं निवर्तमान संसदीय दलका नेताको रुपमा थाल्नुपर्ने पहल कदमीका क्रममा आफ्नो भेटघाटलाई तिब्र बनाएका छन् । भेटका क्रममा शीर्ष नेतृत्वले आफ्नो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
बागमती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टी र गठबन्धनलाई समेत मजबुद अवस्थामा पुर्याउने प्रतिवद्धताका साथ अघि बढेका बानियाँले स्थानीय तहमा कांग्रेसलाई ४८ र गठबन्धनलाई ७८ प्रतिशत जित हासिल गराउन सफल भएका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेससहित गठबन्धनलाई सफलता दिलाउन बानियाँले प्रदेश समितिलाई निर्वाचनमा व्यवस्थित परिचालन गरेका थिए । २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १४ गरी २२ सिट रहेको नेपाली कांग्रेसलाई गठबन्धनका सहयात्री दललाई समेत विश्वासमा लिंदै अहिलेको निर्वाचनमा बानियाँले बागमती प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो दल बनाएका छन् । अहिले नेपाली कांग्रेसले बागमती प्रदेशमा प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने दोलखामा मतगणना जारी रहँदा कांग्रेसले थप सिट जित्ने सम्भावना छ । समानुपातिकतर्फ पनि कांग्रेसले १२ सिट ल्याउने देखिन्छ । निर्वाचनपछिको बागमती प्रदेशसभामा कांग्रेस अघिल्लो प्रदेशसभामा भन्दा करिब दोब्बर सिटसहित पहिलो दल बन्ने भएको छ ।

प्रदेशसभामा अहिलेको नयाँ अंकगणित र यसअघिको सहमतिलाई निरन्तरता दिंदा बानियाँले मूख्यमन्त्रीमा दाबी गर्नु स्वभाविक रहेको पार्टीका नेताहरु बताउँछन् । बानियाँले यसअघि २०७० सालमा पहिलो पटक नेपाली कांग्रेसलाई मकवानपुरबाट विजय यात्राको सुरुवात गराएका थिए । त्यसपछि संविधानसभा सदस्य, गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति भई मकवानपुरमा कांग्रेसलाई चलायमान बनाउन सफल बानियाँ प्रदेश सभापति भएपछि प्रदेशभर कांग्रेसलाई क्रियाशिल बनाईरहेका छन् । बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीलाई पनि बानियाँले प्रभावकारी ढंगले संचालन गरेको उनका सहकर्मी सांसदहरुको भनाई छ । आफु प्रतिपक्षमा रहँदा रचनात्मक ढंगले सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गरेका बानियाँले गठबन्धन सरकारलाई समेत समावेशी बनाएका थिए ।

चेपाङ समुदायबाट पहिलो पटक सन्तबहादुर चेपाङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएपछि बानियाँको ‘समावेशी छवि’ सबैमाझ बाहिर आएको थियो । नेपाली कांग्रेसलाई सामाजिक हितका काममा जोड्दै लगेका बानियाँले जाडोमा न्यानो कपडा होस् वा कोरोनामा खाद्यान्न बाँडेर जनस्तरमा कांग्रेसप्रति भरोसा बढाउँदै लगेका छन् । सिन्धुलीमा हात्ति प्रभावित परिवारलाई राहत वितरण, चेपाङ समुदायलाई न्यानो कपडा, विद्यार्थीलाई विद्यालय पोशाक, कोभिड प्रभावित मजदुर एवं विपन्न समुदायलाई राहत वितरणमा पनि आफ्नो व्यक्तिगत खर्च र प्रदेश कार्यसमितिलाई परिचालन गरेर कांग्रेसलाई जनताको मनमा पुर्याउने काम गरेका छन् ।

बागमती प्रदेशको प्रदेशसभामा पछिल्लो अंकगणित, यसअघि गठबन्धनको सहमतिको निरन्तरता, संसदीय अनुभव, गठबन्धनका सहयात्री दल र संसदका विपक्षी दललाई समेत समन्वय गर्न क्षमता, जनतामा उनी प्रतिको भरोसा र विश्वास लगायतका कारण बानियाँलाई मूख्यमन्त्री बनाउनुपर्ने आवाज बलियो बनेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan