हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो छोटो कार्यकालमा प्रदेशका आम नागरिकको हितमा प्रसस्तै काम भएको बताएका छन् । उनले सर्वाङ्गिण क्षेत्रको विकासमा प्रदेशले ध्यान दिएको बताउँदै कतिपय उपलब्धी हासिल भइसकेको र कतिपय हासिल हुने क्रममा रहेको बताए ।
प्रदेशको मुख्यमन्त्रीबाट बिदाइ हुने क्रममा आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा भएका निर्णय तथा उपलब्धीहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेका थिए ।
२०७८ कात्तिक ११ गते मुख्यमन्त्रीको पद बहाली गरेसँगै प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएका पाण्डेले प्रदेश उच्च शिक्षा ऐन ल्याएर उच्च शिक्ष परिषद् गठनदेखि प्रदेशका अस्पतालहरुको स्तरोन्नतीसम्मलाई आफ्ना उपलब्धीहरुको रुपमा प्रस्तुत गरेका थिए । प्रदेश उच्च शिक्षा नियमावलीको मस्यौदा तयार भएको सुनाउँदै पाण्डेले विश्वविद्यालय मानित विश्वविद्यालय र प्रतिष्ठान प्रदेश स्तरमा स्थापना गरी शिक्षा विकासमा प्रदेशको भूमिका बढाउने कार्य हुने विश्वास लिएका छन् । प्रादेशिक विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि जग्गा खोजी गर्न मन्त्रिपरिषदबाट कार्यदल गठन गरी प्रक्रिया अघि बढाइएको उनले जानकारी गराए ।
प्रदेशमा विज्ञान तथा प्रविधिको विकास सम्बन्धी कार्यको लागि नीतिगत आधार तयार गर्न प्रदेश विज्ञान तथा प्रविधि, अनुसन्धान र नवप्रवर्तन नीति, २०७८ स्वीकृत गरी कार्यान्वयन ल्याइएको पनि मुख्यमन्त्री पाण्डेले बताए । हरेक नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नका लागि प्रदेश भरीका १३ वटा अस्पतालहरुलाई स्तरोन्नति गरी विशेषज्ञ सेवा सहित सञ्चालन गरिनुलाई मुख्यमन्त्रीले अर्को महत्वपूर्ण उपलब्धीको रुपमा ब्याख्या गरेका छन् । विपन्न नागरिकहरुका लागि निःशुल्क रक्त सञ्चार सेवा प्रदान सम्बन्धी कार्यविधि निर्माण गरी रगत र रक्ततत्वमा प्रयोग हुने ब्लड ब्याग र रक्त परीक्षण निःशुल्क रुपमा उपलब्ध गराई कार्यान्वयन गरिएको पाण्डेले सुनाए ।
प्रदेशका सबै आयुर्वेद स्वास्थ्य केन्द्रमा अकुपन्चर सेवा, फिजियोथेरापी सेवा, फार्मेसी सेवा लगायतका सेवा थप गरी आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाको सुदृढीकरण भएको मुख्यमन्त्री पाण्डेले बताए ।
कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सृजना गरी समग्र अर्थतन्त्रलाई गतिशिल र सुदृढ गर्न प्रदेश कृषि विकास अध्यादेश, २०७९ जारी गरी सो बमोजिम किसान परिचय पत्र वितरण कार्यविधि, २०७९ राजपत्रमा समेत जारी गरी कार्यान्वयनको चरणमा रहेको पनि बताइएको छ । प्रदेशभित्र कृषकहरुको माग बमोजिमका कृषि यन्त्र उपकरणहरुको उत्पादन गर्नका लागि कृषि औजार कारखाना स्थापना कार्य अगाडि बढाइएको साथै रासायनिक मल कारखाना स्थापना गर्नका लागि प्रक्रिया शुरु गरिएको पनि पाण्डेले बताए ।
दुध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रणाली अन्तर्गत प्रति लिटर रु १.६४ का दरले २६० वटा सहकारी संस्थाका कृषकलाई विगत वर्षदेखि अनुदान उपलब्ध गराइएकोमा चालु आर्थिक वर्ष २०७९/८० मा प्रति लिटर रु. ५ बनाइएको मुख्यन्त्रीले सुनाए ।
सडक निर्माण तथा बिस्तारमा रहेको अवरोध हटाउन ‘सडक क्षेत्रमा पर्ने घर टहराको क्षतिपूर्ति निर्धारण कार्यविधि, २०७८ स्वीकृत गरी कार्यान्वयनमा लगिएको पनि उनले बताए । स्थानीय तहको केन्द्रसम्म पक्की सडकले जोड्ने नीति अन्तर्गत २० वटा स्थानीय तहका केन्द्र जोड्ने १४७ किमि सडक कालोपत्रे हँुदै गरेको बताइएको छ ।
आफ्नो कार्यकालमा सडक पूर्वाधार तर्फ कच्ची सडक १६० किमि, ग्राभेल २०० किमि, कालोपत्रे सडक ११६ किमि, ढलान सडक ७३ किमि, सडक पुल १९ वटा तथा झोलुङ्गे पुल र ट्रस ब्रिज ६ वटा सम्पन्न भएको पाण्डेले उल्लेख गरेका छन् । भवन पूर्वाधार तर्फ नयाँ भवन निर्माण २१२ वटा, पार्क तथा अन्य संरचना निर्माण २६४ वटा, सरकारी भवन मर्मत ५७ वटा, जनता आवास इकाई निर्माण ६८८ वटा सम्पन्न भएको उनले बताए ।
खानेपानी आयोजना तर्फ मुख्य पाइपलाइन विस्तार ५५३ किमि, ६५७ किमि पाइपलाइन वितरण साथै ३९९ वटा पानी ट्यांकीका साथै न ११७५८ वटा निजी धारा जडान भएको पनि बताए । यातायात, पर्यटन, वन तथा वातावरण, उद्योगलगायतका क्षेत्रमा पनि अपेक्षित उपलब्धी हासिल भएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

