हेटौंडा– नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेसहित ५ वटा दलका बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका जम्कट्टेललाई सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ (२) बमोजिम प्रदेश सरकार गठनका लागि दुई दुइभन्दा बढी दलको बहुमत सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख शर्माले सोमबार ५ बजेसम्मको समयसीमा तोकेका थिए । समय सकिनु २ घण्टा अघि विभिन्न ५ दलका ७० सांसदसहित प्रदेश प्रमुखसँग मुख्यमन्त्रीको दावी गर्न पुगेका जम्कट्टेललाई शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार गठनका लागि ५६ सांसदको समर्थन नै प्रयाप्त थियो ।

