Search
Close this search box.

हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

२५ करोड कारोबारको अनुमान


जिल्लामा उद्योग व्यापार क्षेत्रको विकासका साथै स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सवको उद्घाटन गरेका हुन् । कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायत गरी महोत्सवमा ३ सय ३७ वटा स्टलहरु रहेका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा करिब २५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।

मकवानपुरको अग्र्यानिक मह, मनहरीको गिट्ठा भ्याकुर, चुच्चेखोलाको खुवा जस्ता स्थानीय उत्पादनलाई विशेष प्रवद्र्धन र बिक्रीका साथै ठूला उद्योगका उत्पादनहरु पनि महोत्सवमा रहने संघका अध्यक्ष गुप्ताले बताए । महोत्सवमा मेलामा होटलका ३०, अटोजोनका १० लगायत कपडा, जुत्ता, खानेकुरालगायतका स्टलहरु रहेका छन् । मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले पनि सहकार्य गरेको छ । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने संघका उपाध्यक्ष एवम् प्रवक्ता उज्ज्वल चौलागाईले बताए ।

गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत राखिएको छ । बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानकोसमेत व्यवस्था गरिएको जनाइएको छ ।

मेला अवधिभर करिब ४ लाख अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ । समग्र बागमती प्रदेशको आर्थिक सांस्कृतिक, धार्मिक एव ऐतिहासिक रुपमा प्रचारप्रसारको लागि महोत्सव कोसेढुंगा साबित हुने मकवानपुर उद्योग वाणिज्य संघको दावी छ । संघका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा राजनीतिक, सामाजिक, सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना भनाइ राखेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan