Search
Close this search box.

फालिएका सिमेन्टका बोराबाट आकर्षक झोला

हेटौंडा–फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेको बेला हेटौंडा–३ का महिलाहरुले फालिएका सिमेन्टका बोराहरुको प्रयोग गरी आकर्षक झोला उत्पादन सुरु गरेका छन् । महिला सिप रोजगार तथा गरिबी निवारण समूहले ३ देखि ५ किलोसम्मको सामान अट्ने झोलाहरु उत्पादन सुरु गरेका हुन् ।
हन्ड्रेड एरोज ग्रुप अफ कम्पनी प्रालिमार्फत महिला समूहले बोराको प्रयोग गर्दै आकर्षक झोला उत्पादन गरिरहेका छन् । एक महिनाअघिदेखि उत्पादन सुरु गरिएकोमा हालसम्म करिब ३० हजार वटा झोला उत्पादन गरिसकिएको र बजारमा पठाउने तयारी गरिरहिएको कम्पनीका अध्यक्ष महेश मगरले जानकारी दिए । प्रति झोला उत्पादन खर्च १३ रुपैयाँ रहेको र हेटौंडा उपमहानगरपालिकाले पनि बोरा संकलन र प्रिन्टिङमा केही अनुदान दिए सस्तोमा उपभोक्तामाझ झोला बिक्री गर्ने योजना रहेको अध्यक्ष मगरले बताए ।
उपमहानगर क्षेत्रभित्र ठूला आयोजनाको काम भइरहेको स्थानमा सम्पर्क गरी सिमेन्टको बोरा सुरक्षित राख्नको लागि कम्पनीले आग्रह गर्ने गरेको छ । त्यसबापत प्रतिबोरा २ रुपैयाँ तिरेर खरिद गर्ने गरिएको छ । सिलाई गर्नको लागि १० जना महिलालाई रोजगारी दिइएको छ । उनीहरुले प्रति झोला सिलाईबाट ५ रुपैयाँ प्राप्त गर्ने गरेका छन् । प्रिन्टिङ खर्च र बोरा संकलन खर्च गरी प्रति गोटा ४ रुपैयाँका दरले उपमहानगरपालिकासँग अनुदान सहयोग माग गरिएको अध्यक्ष मगरले बताए । उपमहानगरले सहयोग गरेमा उत्पादित झोला प्रति गोटा १५ रुपैयाँमा बिक्री गर्ने योजना कम्पनीको छ । झोलामा सर्वसाधारणलाई आवश्यक महत्वपूर्ण फोन नम्बर, सचेतनामुलक सन्देश उल्लेख गरिने पनि कम्पनीका अध्यक्ष मगरले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan