प्रहरीले मकवापुरको कैलाश गाउँपालिका—६ बाट १५ सय किलोभन्दा बढी गाँजा र र १३ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७६ वर्षीय जीतबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले छन् । उनीहरुको साथबाट भरुवा बन्दुक र पेस्तोल पनि बरामद गरिएको छ ।
कैलाश गाउँपालिकाको दुम्सीखर्कस्थित ७६ वर्षीय जीतबहादुरको घर तथा गोठ खानतलासी गर्दा प्रहरीले हतियारसहित १ हजार ५ सय १५ किलो गाँजा, १३ किलो चरेस र पेस्तोलमा लाग्ने ६ राउन्ड गोली पनि फेला पारेको थियो । प्रहरीले मोक्तानको गोठबाट गाँजा च्याप्ने काठको फर्मा १ थान, तराजु १ थानसहित गाँजा बनाउन प्रयोग गरिने सरसामान बरामद गरेको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपानेको कमाण्डमा खटिएको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय पालुङबाट शुक्रबार खटिएको संयुक्त टोलीले मोक्तानको घर, गोठमा छापा मारेको थियो ।

