Search
Close this search box.

हेटौंडामा २ वटा बालबिवाह रोकियो

हेटौंडा–बालमैत्री शासन कार्यान्वयनको प्रक्रियामा गएको हेटौंडा उपमहानगरपालिकाले बालमैत्री कार्यमा सक्रियता देखाएको छ । आगामी २०८० मंसिरसम्ममा बालमैत्री स्थानीय तह घोषित गर्ने लक्ष्यका साथ अघि बढेको उपमहानगरपालिकाले विभिन्न वडामा सहजकर्ता र तथ्यांक संकलक नियुक्त गरी काम सुरु गरेको छ ।

नियुक्त गरेका सहजकर्ताले आफ्ना कार्यलाई अघि बढाउने क्रममा हेटौंडा १४ र १७ मा वटा बालबिवाह स्थगित गरेका छन् । दुवै वडामा फागुन १० गते हुन लागेको बाल बिवाह रोकिएको बताईएको छ । गाउँमा १८ बर्ष भन्दा मुनिका वालबालिकाको बिवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्नका लागि नभिल्ने भनी जानकारी गराउँदै वालविवाह रोकिएको उपमहानगरका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।

नगरलाई बालमैत्री घोषणाको तयारीमा रहँदा महाशाखाबाटै वडा र बिद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा बालबिवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तिलाई परिचालन गरेर बिवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडा कार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा वालविबाह रोकिएको थियो ।

बालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा विभिन्न होटल तथा व्यवसायिक क्षेत्रमा प्रयोग भएका ७ जना बालबालिकालाई पुर्नस्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका विभिन्न होटल तथा अन्य क्षेत्रका कामगर्ने बालबालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना बालबालिकालाई संस्थागत रुपमा पुर्नस्थापनाको काम भएको र ति मध्य एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।

विभिन्न समस्यामा परेको बालबालिकाको पुर्नस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महशाखाले जनाएको छ । सरकारले २०८७ सम्म राष्ट्रलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्याङ संकलक गरी ५० जनालाई नियुक्त गरी २०८० मंसिर सम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारीत भएर काम गर्नेछन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan