मञ्जिता मैनाली
हेटौंडा– करिब डेढ दशकसम्म मकवानपुरमा रही सक्रिय पत्रकारिता गरेकी नानीमाया सापकोटाको करिब २ वर्षदेखि यस पेशामा क्रियाशीलता छैन । उनी बैवाहिक जीवनमा बाँधिएदेखि पारिवारिक जिम्मेवारीदेखि हाल सन्तानको स्याहारमै व्यस्त छिन् । पत्रकारिता पेशामा पुनः पहिलेको झैं क्रियाशील बन्ने सम्भावना अब कमै रहेको उनी स्वीकार्छिन् ।
मकवानपुरे महिला पत्रकारको सवालमा नानीमाया त एक उदाहरण मात्रै हुन् । वर्षौँदेखि क्रियाशील पत्रकारिता गरेका महिला पत्रकारहरु एकाएक पेशाबाट पलायन भएका धेरै दृष्टान्तहरु छन् । पेशामा क्रियाशील हुँदाहुँदै एकाएक पलायन हुनुपर्ने महिला पत्रकारको समस्या र पीडाका पछाडि धेरै कारणहरु छन् । तर, यसबारे कसैले पनि चासो र चिन्ता भने दिएको पाइँदैन ।
बिहे पछिको दोहोरो जिम्मेवारीको कारण मिडियामा आफुले सोचे जस्तो काम गर्न नसकेको नानीमाया सापकोटाको भनाइ छ । त्यसका पछाडि आर्थिक तथा अन्य कारणहरु पनि रहेछन् । ‘हामी त लामै समय आफ्नो क्षेत्रमा टिकेरै काम गर्यौँ तर, महिला पत्रकार फिल्डमा समाचार संकलनको लागि जाँदा सूचना दिने प्रमुख व्यक्तिले नै ख्यालख्याल सम्झिदिने कारण पनि नयाँ महिला पत्रकारलाई हीनताबोध हुन्छ । १२ वर्ष पत्रकारिता पेशा गर्दा पनि चित्तबुझ्दो तलब लिन नसक्ने कारण पनि म चाहिँ पत्रकारिता प्रति निराश भएकी हुँ ।’ सापकोटाले भनिन् ।
२०६१ सालदेखि मिडियामा क्रियाशील सरिता दाहाल अहिले आफैंले साप्ताहित पत्रिका र अनलाइनको प्रकाशक रसम्पादक भई व्यावसायिक स्वरोजगारमुलक पत्रकारिता गरिरहेकी छन् । घरको जिम्मेवारीका साथै पत्रकारितालाई सँगै अघि बढाउन सहज भने नभएको उनको अनुभव छ । ‘हामी महिलालाई पत्रकारिता गर्न क्षमता भएर पनि पुरुष जतिको सहज छैन । महिला पत्रकारहरुलाइ मिडिया हाउसले सजिलै संवाददाता राख्न त चाँहदैन, सम्पादकीय भूमिका निभाउने त परको कुरो ।’ उनी भन्छिन् । मकवानपुरमा महिला पत्रकारहरु मिडियालाइ माध्यम बनाएर अरु पेशामा जानेको संख्या बढी रहेको दाहालको भनाइ छ ।
म सम्पादकको रुपमा काम गर्छु भन्ने आँट बोकेर आउने महिला पत्रकार नै नभएको हेटौंडा सन्देश दैनिकका सम्पादक माधव न्यौपानेको भनाइ छ । थोरै लगानीमै अनलाइन पत्रिका सञ्चालन गर्न सकिने भएको कारण कोही महिला पत्रकारहरु आफैँ सञ्चालक÷सम्पादकको रुपमा काम गरिरहेको उनले बताए ।
पत्रकारितामा स्नातक अध्ययन पूरा गरेर सात वर्ष पत्रकारिता गरेकी रेश्मी कार्कीको अनुभवमा व्यवसायिक पत्रकारिता सामाजिक सम्बन्धका आधारमा निर्भर हुन्छ । श्रमजीवी भएर पत्रकारिता गरी जीवन चलाउन निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । पत्रकारिता छाडी कार्की हाल एक गैरसरकारी संस्थामा क्रियाशील छिन् । महिला पत्रकारको सुरक्षाको लागि राज्य नै गम्भीर नभएको कार्कीको भनाइ छ ।
पत्रकारितामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् । केही सञ्चार क्षेत्रमा रहेका महिलाहरु पनि रेडियो कार्यक्रम चलाउने र न्युज रिडरको रुपमा काम गरिरहेका छन् । फिल्डमा निस्केर काम गर्ने महिलाको संख्या न्यून देखिन्छ ।
पत्रकारिता पेशा आफैंमा एक चुनौतीपूर्ण पेशा हो । पत्रकारिता पेशा पुरुष पत्रकारका लागि आर्थिक र भौतिक रुपमा चुनौतीपूर्ण देखिँदा महिलाहरुको लागि आर्थिक, भौतिक र सामाजिक सबै क्षेत्रमा असुरक्षा हुने जानकारहरुको भनाइ छ । समाचार लेखेकै कारण ज्यान मार्ने धम्की देखी लिएर कुटपिटमा धेरै पत्रकारहरु परेको कारणले गर्दा पनि महिला हरुलाइ पत्रकारिता गर्न परिवारबाट पनि रोकावट आएरहेको हुन्छ । पत्रकारलाई राज्यको चौथो अंग मानिएता पनि राज्यले पत्रकारको पेशागत सुरक्षाको लागि उचित व्यवस्था गर्न नसकेको पत्रकारका अग्रजहरु बताउँछन् ।
धेरै महिला पत्रकारहरु आफ्नो क्षेत्रमा अझै पनि खुलेर अगाडि बढ्न सकेका छैनन् । महिला पत्रकारहरुले आफ्नो व्यवसायकै रुपमा पत्रकारितालाई अगाडि बढाउनेको ज्यादै संख्या न्यून छ । पत्रकारितामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् । केही सञ्चार क्षेत्रमा रहेका महिलाहरु पनि रेडियो कार्यक्रम चलाउने र न्युज रिडरको रुपमा काम गरिरहेका छन् । फिल्डमा निस्केर काम गर्ने महिलाको संख्या न्यून देखिन्छ ।
महिला पत्रकारहरु सक्षम भएर काम गर्न खोजे पनि कतिपय पुरुष पत्रकारहरुले महिलाको लागि यो पेशा हैन भनी अघि बढ्न नदिनुको साथै हतोत्साहित गर्ने काम पनि हुने गरेको मकवानपुरका कतिपय महिला पत्रकारहरुको अनुभव छ । पत्रकारको पेशागत संगठन र छाता संगठनमा पनि महिला पत्रकारको उपस्थिति निकै कमजोर देखिन्छ ।
पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ मकवानपुरमा हालसम्म महिला नेतृत्व आउन नसकेको २०६० सालदेखि मिडियामा क्रियाशील तथा पत्रकार महासंघ मकवानपुरको पहिलो महिला सदस्य सम्झना कार्की बताउँछिन् । पत्रकार महासंघमा मात्र नभई जुनसुकै क्षेत्रमा पनि प्रमुख भूमिकामा महिलालाई आउन गाह्रो पर्ने उनी बताउँछिन् ।

