Search
Close this search box.

भीमफेदी दुर्घटना; १४ मृतकको पहिचान खुल्यो, ६ जना घाइते


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु हुने चालकसहित १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशङ्कर कुमार मण्डल रहेका छन्। अन्य मृतक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका हुन्।
मृत्यु हुनेमा २६ वर्षीय विकेश यादव, २८ वर्षीया पुनम यादव, ७ वर्षीया शिक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी यादव, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव, १५ वर्षीय रोहन यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भनिने रामप्रसाद राय यादव र १७/१८ वर्षीय सुदेश यादव रहेका छन्।
मृतक पुनम यादव अवधेश यादवकी श्रीमती हुन् भने शिक्षा, दीपिका र अनु कुमारी उनका छोरी हुन्। त्यस्तै, गायत्री देवी गुड्डु यादवकी श्रीमती हुन्।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन्।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई थप उपचारका लागि भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। उद्धारका क्रममा घटनास्थलमै १० जनाको शव फेला परेको थियो। खोज तथा उद्धारका क्रममा थप चार जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको हो। उद्धार टोलीले घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएको थियो। घटनास्थलमा थप खोज तथा उद्धारका लागि बागमती प्रदेश प्रहरी गण र विपद् व्यवस्थापन गुल्मबाट समेत थप टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार थप फेला परेका तीन जनाको शव साँझ ६ बजे हेटौँडा अस्पताल ल्याएर सनाखत गरिएको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan