हेटौंडा– यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समस्या उजागर गर्नेगरी तयार पारिएको चलचित्र ‘नीलो फूल’को हेटौंडामा प्रिमियर गरिएको छ । फ्रेण्ड्स् हेटौंडाको संयोजनमा बिहीबार हेटौंडाको एनएस सिनेमा हलमा मकवानपुरका सरोकारवालाहरुको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको हो ।
करिब एक घण्टा लामो चलचित्रमा परिवार र समाजको दबाबमा एउटा समलिङ्गी पुरुषले अनिच्छाले बिवाह गर्दाको परिणाम देखाइएको छ । समलिङ्गी पुरुषको अनिच्छापूर्वक बिवाह गर्दा सन्तान प्राप्ती र यौन सुख लिन÷दिन नसकेको र त्यसका कारण परिवार र समाजबाट तिरस्कृत हुनु परेको विषयवस्तु समेटिएको छ । यस्तो अवस्थामा समलिङ्गी पुरुषका साथ बिवाह गरेर आउने महिलामाथिको लान्छना, भेदभाव, मानसिक हिंसालाई पनि चलचित्रमा उजागर गरिएको छ ।
पुर्व सांसद तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मी सुनिलबाबु पन्तको निर्माण तथा निर्देशन रहेको चलचित्रमा सागर घिमिरे, उर्मिला कार्की, घनश्याम जोशी, विमला गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र यस अघि काठमाडौँ, नेपालगन्ज, बिराटनगर, बुटवल लगायतका स्थानहरुमा प्रदर्शन गरिसकिएको छ ।
चलचित्र हेरिसकेपछि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यौनिक तथा लैङ्कि अल्पसंख्यक समुदायको अधिकार र आवाज बुलंद गर्न चलचित्र प्रभावकारी हुने धारणा राखिन् । फरक यौनिक पहिचान भएका व्यक्तिहरु पनि यहि समाजका सदस्य भएकाले भेदभाव गर्न नहुने उनको भनाइ थियो । यौनिक तथा लैङ्कि अल्पसंख्यकको हक अधिकार स्थापित गराउन प्रदेश सरकारले सदैव सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् ।

चलचित्र हेरिसकेपछि हेटौंडा उपमहानगरपालिकाका अधिकृत जगन्नाथ सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक चुडा खड्का, अधिकारकर्मी आरती पाठक, रमिला घलान, पत्रकार केशव समर्पणलगायतले सुझावसहितका प्रतिक्रिया राखेका थिए ।
चलचित्र प्रदर्शन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, निर्माता सुनिलबाबु पन्त, फ्रेण्डस् हेटौंडाकी कार्यक्रम संयोजक किरण थापा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, चलचित्रका कलाकार, पत्रकार, शिक्षक, राजनैतिक दलका व्यक्तित्वहरु, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । हेटाैंडा ९ मा रहेकाे कृष्ण आदर्श बाेर्डिङ स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरु पनि चलचित्र हेर्न पुगेका थिए ।

