Search
Close this search box.

मुलुककाे समुन्नतिमा पत्रकारकाे भूमिका महत्वपूर्ण: सभामुख पाठक

चितवन (साैराह) – बागमती प्रदेशका सभामुख भुवन पाठकले मुलुककाे समुन्नतिमा पत्रकारकाे भूमिका महत्वपूर्ण हुने बताएका छन् । समाजमा गलत क्रियाकलाप हुन नदिन सचेत गराउँदै विकृतयुक्त कार्यलाई निरुत्साहित गर्न पत्रकारकाे भूमिका हुने उनले बताए ।

बागमती प्रदेशसभा सचिवालयकाे आयाेजनामा शुक्रबारबाट चितवनकाे साैराहमा सुरु भएकाे संसदीय रिपाेर्टिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बाेल्दै सभामुख पाठकले पत्रकारले धेरै जाेखिमकाबीच पनि काम गरिरहेकाे भन्दै पत्रकारितालाई सम्मानित पेशाकाे रुपमा व्याख्या गरे । नेपालमा सञ्चार माध्यमकाे व्यवस्थित विकास हुँदै गएकाेमा खुसी व्यक्त गर्दै सभामुख पाठकले त्यस क्षेत्रमा केही कमी कमजाेरी भए सुधार्दै लैजानुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्रकार र प्रदेशसभाबीच सुमधुर सम्बन्ध कायम राख्न आफूहरु तत्पर रहेकाे बताए । प्रदेशसभाकाे बैठक, समितिकाे बैठकलगायतमा पत्रकारकाे पहुँचबारे आफूहरु सचेत रहेकाे खड्काकाे भनाइ थियाे । सही र छिटाे सूचना सम्प्रेषण गर्ने बिधिबारे पनि पत्रकारहरूसँग छलफल गरिने उनले बताए ।

प्रशिक्षण उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं खत्री, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रशिक्षणमा आज संसद, संसदीय संवाददाता खाेज तथा लेखनशैली, जनप्रतिनिधिसँग सम्बन्धकाे विषयमा पत्रकार हरिबहादुर थापाले सहजीकरण गरिरहेका छन् भने भाेलि प्रदेशसभा र सूचना सम्बन्धी विषयमा मनाेजकुमार गुप्ताले सहजीकरण गर्नेछन् । प्रशिक्षणमा संसदीय पत्रकारितामा क्रियाशील मकवानपुर र चितवनका करिब ४० जना पत्रकारकाे सहभागिता रहेकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan