अन्धविश्वासले कस्तोसम्म गर्न सक्छ भन्ने उदाहरण रुपन्देहीको एउटा घटनाले देखाएको छ । कथित माताले उपचारका नाममा १४ वर्षीया छोरीलाई कुटीकुटी मार्दा जन्म दिने बाबु आमा भने रमिते मात्रै भएका छन् ।
घटना हो रुपन्देही सैनामैनाको । फागुन २० गते राति कथित माताले उपचार गर्न भन्दै साढे ४ घण्टासम्म लगातार कुट्दा १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ ।
कुटाइले बालिका थिलोथिलो हुँदा पनि बाबु आमासहित कसैको मन पग्लिएन । जन्मदिने बाबु आमाले छोरीले गुहार मागिरहेको रमिता हेरिरहे । कोही भिडिओ खिच्न मस्त देखिन्छन् ।
समाजिक सञ्जालमा आएको भिडिओ जो कसैलाई पनि विचलित बनाउने खालको छ । एउटी निरीह बिरामी बालिकामाथि स्वघोषित माता राक्षसजस्तै जाइलागेकी छ । उसले कहिले घाँटी च्याप्छे कहिले पानी खन्याउँछे कहिले घाटी बटार्छे ।
लछार पछार र कुटपिटले बालिका भुइँमा ढल्दा पनि उसले छोड्दिन । फेरि उठाउँछे, कुट्छे, मुखमा जबर्जस्ती पानी हाल्छे । बालिका पीडाले रोइरहेकी छन् । कोही भिडिओ खिच्न व्यस्त छन् भने कोही गफमा मस्त देखिन्छन् । त्यस्तो देख्दा बाबु आमाको पनि मन पग्लिँदैन ।
बालिका केही दिनदेखि बिरामी थिइन । परिवारले सुरुमा उनलाई स्थानीय मेडिकलमा लगे । त्यसले निको नभएको भन्दै उपचारका लागि भन्दै कथित माता २२ वर्षीया सोनिया रेश्मीकोमा लगियो । सैनामैना १० मा उनीहरूको घर नजिकै थियो । बाबु ताराप्रसाद ज्ञवाली, आमा लिला र मामाले बालिकालाई रेश्मीकोमा आफैँ लिएर गएका थिए ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार रेश्मीले धामी उतार्ने भन्दै शनिबार राति ८ बजेदेखि साढे १२ बजेसम्म लगातार साढे ४ घण्टा कुटपिट गरेकी थिई । साढे १२ बजे बालिकाको मृत्यु नहुँदासम्म उसले कुटीरही ।
बालिकाका बाबु, आमा, मामासहित कथित माताका आफन्त मीन रेश्मी, चन्द्रकला रेश्मीलगायत त्यतिबेला घटनास्थलमा रहेको प्रनी थापाले बताए । बालिकाको मृत्यु भएपछि पनि प्रहरीलाई खबर गरिएन । राति नै गाउँले मिलेर घाटमा लगेर जलाएको पाइएको छ ।
प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न कथित माता सोनिया रेश्मीलाई पक्राउ गरेको छ । एकसाता हुन लाग्दा समेत अन्यलाई भने पक्राउ गरिएको छैन । घटनास्थलमा रहेका र शव जलाउन गएका १८ जनालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको प्रहरी निरीक्षक थापाले जनाए ।
गाउँलेले राति नै शव जलाएर गुपचुप राखेकाले घटना बाहिर आउन समय लागेको हो । समाजिक सञ्जालमा भिडिओ आएपछि बाबु आमासहित हत्यामा संलग्न सबैलाई कडा कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
प्रहरीले यसबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ । प्रहरी निरीक्षक थापाले आफू हिजो मात्रै सरुवा भएर सालझण्डी पुगेको र यो घटनालाई गम्भीरतापूर्क लिई अनुसन्धान अघि बढाएको बताए ।
नेपाल भ्युजबाट

