काठमाडौं। नयाँ वर्षको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ ले सुरुको दुई दिनमै ४ करोडभन्दा बढी कमाउन सफल भएको छ। आक्रामक ओपनिङ गरेको फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ र दोस्रो दिन पनि दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको छ ।
राजधानीलगायत पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आएका छन्। यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो । आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्समा भीड उस्तै छ ।
विशेषगरी, लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्मका शो पनि देखाइरहेका छन् । सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई फाइदा पुगेको हो ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई दृश्यभाषाको रुप दिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, रोयदीपलगायत कलाकारको अभिनय रहेको छ।