Search
Close this search box.

राक्सिराङको चाक्ले खोलामा २१५ मिटर लामो झोलुङ्गे पुल बन्दै


मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ र ५ जोड्ने बोटबारी सरिखेत चाक्ले खोलामा २१५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ। लामो समयदेखि पुलको अभावमा आवागमनमा सास्ती खेप्दै आएका स्थानीयको समस्या समाधान गर्ने उद्देश्यले सोमबार पुलको शिलान्यास गरिएको हो।
बागमती प्रदेश सरकारको ३ करोड २३ लाख रुपैयाँ बजेटमा निर्माण हुन लागेको पुलको पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेशसभा सदस्य कुमारी मोक्तानले एक कार्यक्रमबीच शिलान्यास गरेकी हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले जनताको आधारभूत आवश्यकता र समस्यालाई सम्बोधन गर्दै सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिनुपर्ने बताइन्। स्थानीयले वर्षौंदेखि भोग्दै आएको आवागमनको समस्या समाधान गर्न पुल, सडकजस्ता पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार निर्माणले स्थानीयको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
पुल निर्माण सम्पन्न भएपछि हजारौँ स्थानीय प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। उनका अनुसार राक्सिराङ गाउँपालिकाका बढी जनघनत्व भएका वडामध्ये वडा नम्बर ३ र ५ पनि पर्छन्। यी दुई वडाका बासिन्दाले लामो समयदेखि चाक्ले खोला वारपार गर्न कठिनाइ भोग्दै आएका थिए।
“पुल निर्माण भएपछि हजारौँ स्थानीयको आवागमन सहज र सुरक्षित हुनेछ। वर्षायाममा खोला बढ्दा स्थानीयले भोग्नुपर्ने जोखिम र सास्ती अन्त्य हुने अपेक्षा गरेका छौँ,” अध्यक्ष मल्लले भने। उनले आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइने जानकारी दिए।

बोडबारीको स्थानीय बासिन्दा भिम लामाकाअनुसार
चाक्ले खोलामा रहेको पुरानो पुल २०५९ सालको बाढीले बगाएपछि स्थानीयवासीले वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका थिए। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा वारपार गर्न जोखिमपूर्ण हुने गरेको उनले बताए। पुलको अभावमा स्थानीयलाई दैनिक आवतजावतका साथै शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक कामका लागि समेत समस्या हुँदै आएको उनले जानकारी दिए।
शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, वडाध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan