हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ खरखण्डे र सिलिङेका चेपाङ बालबालिका वर्षायाममा ज्यान जोखिममा राखेर लोथर खोला तर्दै विद्यालय जान बाध्य छन्। खोलामा पुल नहुँदा चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित थाकलटार माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीले हरेक वर्ष सास्ती खेप्दै आएका छन्।
बिहीबार अपराह्न विद्यालय छुट्टी हुँदा मुसलधारे वर्षासँगै लोथर खोलामा बाढी आएको थियो। खोला तरेर घर फर्कने क्रममा कक्षा ८ मा अध्ययनरत चिनीमाया चेपाङसहितका विद्यार्थीले जोखिम मोलेर खोला पार गर्नुपरेको थियो। खोलाको बहाव तीव्र भएपछि ठूला विद्यार्थीले साना भाइबहिनीलाई पिठ्युँमा बोकेर र काखी च्यापेर खोला तारिदिएका थिए।
राक्सिराङ गाउँपालिका–६ का पूर्ववडाध्यक्ष सिंहलाल चेपाङका अनुसार खरखण्डे र आसपासका क्षेत्रबाट करिब ५० जना बालबालिका थाकलटार माध्यमिक विद्यालयमा अध्ययन गर्न जान्छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थी चेपाङ समुदायका छन्। वर्षायाममा खोला बढेपछि उनीहरूको विद्यालय आवतजावत जोखिमपूर्ण बन्ने गरेको छ।
स्थानीयका अनुसार विगतमा लोथर खोलाले बगाएर विद्यार्थीको ज्यानसमेत जाने गरेको छ। यस वर्ष भने खोलाले विद्यार्थी बगाएको घटना आफूले नसुनेको सिंहलालले बताए। दुई महिनाअघि हेटौँडा उपमहानगरपालिका–१९ का तीन विद्यार्थीको वासुदेव खोलाले बगाएर ज्यान गएको घटनाले पनि वर्षायाममा खोला तर्नुपर्ने जोखिमलाई उजागर गरेको छ।
लोथर खोलामा पुल नहुँदा विद्यार्थी मात्रै होइन, स्थानीय बासिन्दाले समेत आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। बाढीका कारण मोटरसाइकल चलाएर खोला पार गर्न नसक्दा स्थानीयले युवाको सहयोग लिनुपर्ने अवस्था छ।
हेटौँडाबाट घर फर्कंदै गरेका राक्सिराङ–६ खरखण्डेका सरोज चेपाङले मोटरसाइकल खोला पार गराउन दुई हजार रुपैयाँ तिरेका थिए। उनी आफैँ खोला तरेर पार पुगे पनि किनारमा बसेका युवाले मोटरसाइकल बोकेर पार पुर्याइदिएका थिए। सिलिङेका दिनेश चेपाङले पनि मोटरसाइकल तार्न दुई हजार रुपैयाँ तिरेको बताए।
वर्षायाममा स्थानीय ८ देखि १० जना युवाले मोटरसाइकल वारिपारि गराइदिने काम गर्दै आएका छन्। उनीहरूले एउटा मोटरसाइकल तारिदिएबापत दुई हजार रुपैयाँसम्म लिने गरेका छन्। तर, शुल्क लिएर मोटरसाइकल तारिदिने व्यवस्था भए पनि जोखिममा परेका साना विद्यार्थीलाई सुरक्षित रूपमा खोला तार्ने व्यवस्था छैन।
लोथर खोलामा पुल नहुँदा राक्सिराङ गाउँपालिका–६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा प्रभावित हुँदै आएका छन्। वर्षायाममा खोला बढेपछि सवारीसाधनको आवागमन ठप्प हुने गरेको छ। बाढीका कारण विगत दुई महिनादेखि ठूला सवारीसाधनसमेत चल्न नसकेको स्थानीयको भनाइ छ।
यी बस्तीमा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी गर्न र स्थानीय उत्पादन बजारसम्म पुर्याउन यही मार्ग प्रयोग गरिन्छ। खोला बढेपछि बिरामीलाई उपचारका लागि एम्बुलेन्समा लैजानसमेत समस्या हुने गरेको स्थानीय बताउँछन्।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार लोथर खोलामा पक्की पुल नहुँदा चार वडाका बासिन्दाले वर्षायाममा ठूलो समस्या भोग्नुपरेको छ। गाउँपालिकाको बजेटले ठूलो पुल निर्माण गर्न सम्भव नभएकाले प्रदेश र संघीय सरकारसँग सहयोग माग्दै आएको उनले बताए।
गाउँपालिकाले तीन वर्षअघि नै पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी प्रदेश र संघीय सरकारसँग बजेट माग गरेको थियो। तर, बजेट विनियोजन नहुँदा पुल निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिका उपाध्यक्ष वनस्तम थिङले बताए।
लोथर खोलामा पुल नहुँदा स्थानीयको दैनिक जीवनसँगै विकास निर्माणका कामसमेत प्रभावित हुने गरेका छन्। सिलिङेका स्थानीय, संविधानसभा सदस्य तथा नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार जेठदेखि खोला घटेर कात्तिक लाग्दासम्म राक्सिराङका चार वडामा विकास निर्माणका काम प्रभावित हुने गरेका छन्।
‘लोथर खोलामा पुल नहुँदा यहाँका बासिन्दाले लामो समयदेखि समस्या भोग्दै आएका छन्। पुल बनाउन दबाब दिँदै आएका छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन,’ उनले भने।

