Search
Close this search box.

शून्य फोहोर अभियानका लागि ३२ लाख बजेट, हेटौंडा बजार डस्टबिनविहीन

हेटौँडा । बागमती प्रदेशको राजधानीको मुटुमा रहेको हेटौँडा उपमहानगरपालिकाले सहरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित ‘शून्य फोहोर’ महाअभियान सञ्चालन गरिरहेको छ। तर,सहरको मुख्य बजार, उपमहानगरपालिका एरिया र चोकमै सार्वजनिक डस्टबिन नहुँदा अभियानको व्यवहारिक कार्यान्वयनमाथि प्रश्न उठेको छ।
हेटौँडा उपमहानगरपालिकाले साउन २२  मा औपचारिक रूपमा ‘शून्य फोहोर’ महाअभियान घोषणा गर्दै शुभारम्भ गरेको थियो। उपमहानगरपालिकाको १९औँ नगरसभाबाट स्वीकृत ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडा’ भन्ने नारासहित पर्यटन वर्ष–२०८३ मनाउने निर्णयको पहिलो चरणका रूपमा अभियान अघि बढाइएको हो।
हेटौँडालाई स्वच्छ, हरियाली र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत बजार क्षेत्रको सरसफाइ, घर तथा भवनको सौन्दर्यीकरण, झाडी व्यवस्थापन र विभिन्न सार्वजनिक स्थानको सफाइका काम पनि भइरहेका छन्। तर, प्रदेश राजधानीको मुख्य बजार क्षेत्रमै सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक डस्टबिन नहुँदा अभियानको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ।
बजारमा किनमेल गर्न आउने नागरिक, पैदलयात्री तथा यात्रुले आफूसँग भएको चकलेटको खोल, पानीको बोतल, कागज र प्लास्टिकजन्य फोहोर कहाँ फाल्ने? मुख्य चोक र सडकमा फोहोर संकलन गर्ने व्यवस्था नहुँदा सामान्य फोहोरसमेत सडक तथा सार्वजनिक स्थानमा छरपस्ट देखिने गरेको छ। उपमहानगरपालिका भएपश्चात हेटौँडाका मुख्य बजार क्षेत्रमा डस्टबिन राखिएका थिए। तर, अहिले ती डस्टबिन देखिँदैनन्। बजार क्षेत्रमा डस्टबिन नहुँदा फोहोर व्यवस्थापनमा नागरिकलाई समस्या परेको छ भने जथाभावी फोहोर फाल्ने प्रवृत्तिले सहरको सरसफाइमा थप चुनौती सिर्जना गरेको छ।

शून्य फोहोर अभियान सञ्चालन भइरहँदा प्रदेश राजधानीको मुख्य बजारमै सार्वजनिक डस्टबिन नहुनु विरोधाभासपूर्ण भएको स्थानीयवासीको भनाइ छ। स्थानीयवासीका अनुसार सहरलाई सफा बनाउने अभियानमा बजेट खर्च गर्नु र विभिन्न कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भए पनि त्यसका लागि आवश्यक आधारभूत पूर्वाधारको व्यवस्था पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सार्वजनिक चोक, बजार र सडकमा डस्टबिन राखेर नियमित रूपमा फोहोर संकलन गर्ने व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्। सहरमा अव्यवस्थित संरचना, जीर्ण घर तथा सार्वजनिक क्षेत्रको व्यवस्थापनसमेत चुनौतीका रूपमा रहेको स्थानीयवासीको भनाइ छ। यस्ता समस्या समाधान नगरी शून्य फोहोरको लक्ष्य पूरा गर्न कठिन हुने स्थानीयको तर्क छ।
डस्टबिन राख्ने विषयमा छलफल भइरहेको छ; प्रमुख प्रशासकीय अधिकृत वली
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले बजार क्षेत्रमा डस्टबिन राख्नुपर्ने विषयमा उपमहानगरपालिका सकारात्मक रहेको बताउनुभएको छ ।
उहाँका अनुसार डस्टबिन राख्ने विषयमा विभिन्न समस्या र सुझाव प्राप्त भएकाले सम्बन्धित पक्षसँग छलफल तथा समन्वय भइरहेको छ। स्थानीयस्तरबाट डस्टबिन राख्दा हुन सक्ने समस्याबारे पनि जानकारी प्राप्त भएपछि उपयुक्त विकल्प खोज्ने काम भइरहेको उहाँले बताउनुभयो। सम्बन्धित पक्षसँग छलफल गरेर कहाँ र कसरी डस्टबिन राख्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेपछि आवश्यक प्रक्रिया अघि बढाइने ओलीको भनाइ छ।
डस्टबिनको दुरुपयोगले हटाउनुपर्ने अवस्था आयो; सरसफाइ शाखा
हेटौँडा उपमहानगरपालिकाको विपद् व्यवस्थापन तथा समन्वय शाखाअन्तर्गत सरसफाइ तथा यान्त्रिक शाखा प्रमुख हिमप्रसाद पौडेलले शून्य फोहोर अभियानअन्तर्गत बजार क्षेत्रको सौन्दर्यीकरण र सरसफाइका काम भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बजार क्षेत्रमा डेकोरेसन गर्ने, रङरोगन गर्ने, सरसफाइ गर्ने र औद्योगिक क्षेत्रको गेटदेखि चिसापानीसम्म सडक आसपासका झाडी हटाउने काम भइरहेको छ। चाडपर्वका कारण केही काम रोकिए पनि चाडपर्वपछि अभियानलाई पुन तीव्र गतिमा अगाडि बढाइने उहाँले बताउनुभयो।
पौडेलका अनुसार साउनयता हेटौँडा अस्पताल तथा विभिन्न वडाले सञ्चालन गरेका स्वास्थ्य संस्थाहरूमा गरी ३२ वटा डस्टबिन राखिएको छ। तर, ती डस्टबिन मुख्य बजार क्षेत्रका सार्वजनिक चोक तथा सडकमा राखिएका होइनन्। बजार क्षेत्रमा विगतमा राखिएका डस्टबिनको दुरुपयोग भएपछि हटाउनुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक डस्टबिनमा सामान्य फोहोरसँगै घरबाट निस्कने फोहोरसमेत ल्याएर फाल्ने गरिएको थियो। त्यतिमात्र नभई मरेका कुकुर र बिरालोजस्ता जनावरसमेत डस्टबिनमा फाल्ने गर्दा दुर्गन्ध फैलिने र वरपरको वातावरण नै प्रदूषित हुने समस्या देखिएको थियो।
सार्वजनिक प्रयोजनका लागि राखिएका डस्टबिनमा घरायसी फोहोर र मरेका जनावरसमेत फाल्न थालेपछि व्यवस्थापनमा थप समस्या सिर्जना भएको उहाँको भनाइ छ। डस्टबिन राख्दा पनि फोहोर व्यवस्थापन सहज हुनुको सट्टा दुर्गन्ध र अव्यवस्था बढ्ने अवस्था आएपछि बजार क्षेत्रमा डस्टबिन राख्ने विषयमा उपमहानगरपालिकाले पुनर्विचार गर्नुपरेको उहाँको भनाइ छ। अब बजार क्षेत्रमा डस्टबिनको सट्टा फोहोर संकलनका लागि बोरा प्रयोग गर्ने विकल्पलाई प्राथमिकता दिने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । बजार क्षेत्रका घरधनीलाई आफ्नो अनुकूलताअनुसार बोरा राखेर फोहोर संकलन तथा व्यवस्थापन गर्न आग्रह गरिने पनि उहाँले बताउनुभयो ।

हेटौँडालाई पर्यटन वर्ष–२०८३ मा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। तर, पर्यटकलाई आकर्षित गर्ने सहरको परिचय केवल आकर्षक नारा र सौन्दर्यीकरणले मात्र बन्दैन। सार्वजनिक स्थानको सरसफाइ, व्यवस्थित फोहोर संकलन र नागरिकमैत्री पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छन्।
डस्टबिनको दुरुपयोग हुनु नागरिकको गैरजिम्मेवारीसँग जोडिएको विषय हो। सार्वजनिक सम्पत्तिको संरक्षण र उचित प्रयोग गर्नु नागरिकको दायित्व हो। तर, दुरुपयोग हुन्छ भन्दै सार्वजनिक स्थानमा फोहोर संकलनको व्यवस्था नै नहुनु पनि समस्याको समाधान हुन सक्दैन। डस्टबिन राख्ने स्थान निर्धारण डस्टबिन राख्ने स्थान निर्धारण गर्ने, नियमित रूपमा फोहोर उठाउने, निगरानी गर्ने र दुरुपयोग गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्न सकिन्छ।  हेटौँडालाई पर्यटनमैत्री र स्वच्छ सहर बनाउने हो भने अभियानको नारासँगै सार्वजनिक फोहोर व्यवस्थापनको भरपर्दो विकल्प पनि आवश्यक छ।  हेटौँडावासीको प्रश्न एउटै छ- शून्य फोहोरको अभियान चलिरहँदा प्रदेश राजधानीको मुख्य बजारमा सार्वजनिक डस्टबिनको व्यवस्था कहिले हुन्छ?

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan