Search
Close this search box.

कुलेखानीको जोखिमले भीमफेदी–कुलेखानी सडकमा १२ घण्टा यातायात बन्द

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्मका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा हेटौंडा -१ चौकीटोलमै रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै तोकिएको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। प्रशासनका अनुसार लगातारको वर्षाले कुलेखानी जलाशयमा पानीको सतह बढेको र आवश्यक परे बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले १२ कात्तिकदेखि मकवानपुरसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण शनिबार साँझसम्म जलाशयको पानीको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ।

जलाधार क्षेत्रमा थप भारी वर्षा भए बाँधको ढोका खोल्नुपर्ने हुन सक्ने प्रशासनको भनाइ छ। यस्तो अवस्थामा सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम छ।

प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन, नदीकिनारमा नजान तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan