मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय तहले विकास बजेटको समयमै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ। संघीय र प्रदेश सरकारबाट विनियोजित बजेट खर्च गर्न स्थानीय तहले ढिलाइ गर्दा विकास निर्माणका काम प्रभावित हुने गरेको उहाँले बताउनुभयो।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकारले विनियोजन गरेको बजेटको प्रभावकारी कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको रहेको उल्लेख गर्नुभयो। नागरिकसँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय तह भएकाले जनताको आवश्यकता पहिचान गरी योजना कार्यान्वयनमा जनप्रतिनिधिहरू जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड तथा समपूरक अनुदानमार्फत प्राप्त बजेटसमेत स्थानीय तहमार्फत खर्च हुने भएकाले योजना छनोटदेखि कार्यान्वयन र प्रगतिसम्म जनप्रतिनिधिले विशेष चासो दिनुपर्ने उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापा मगरले आगामी आर्थिक वर्षदेखि व्यक्तिगत स्वार्थमा आधारित तथा टुक्रे योजनालाई निरुत्साहित गर्दै सामूहिक र परिणाममुखी योजनामा बजेट केन्द्रित गर्ने प्रदेश सरकारको तयारी रहेको जानकारी दिनुभयो। सडक तथा खानेपानी आयोजनामा नयाँ मापदण्ड लागू गर्ने तयारी भइरहेको उल्लेख गर्दै उहाँले ६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने मापदण्ड बनाउन लागिएको बताउनुभयो।
व्यक्तिगत मागका आधारमा साना योजना छनोट गर्दा बजेट छरिने र अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने भएकाले उपभोक्ता समिति तथा धेरै नागरिक लाभान्वित हुने योजनालाई प्राथमिकता दिइने उहाँको भनाइ थियो।
प्रदेश सरकारले गरेका काम र उपलब्धिबारे नागरिकलाई पर्याप्त जानकारी गराउन नसकिएको स्वीकार गर्दै मुख्यमन्त्री थापा मगरले संघीयताको औचित्यमाथि प्रश्न उठाउनुभन्दा यसको कार्यान्वयनपछि भएका विकास निर्माणका कामको मूल्याङ्कन गर्न आग्रह गर्नुभयो। बागमती प्रदेशका १३ वटै जिल्लामा पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा उल्लेख्य प्रगति भएको उहाँले दाबी गर्नुभयो।
मकवानपुरमा संघीयता कार्यान्वयनपछि पूर्वाधार विकासमा उल्लेख्य सुधार आएको उल्लेख गर्दै उहाँले विगतमा सीमित सडक मार्गबाट मात्रै जिल्ला पुग्न सकिने अवस्था रहेकामा अहिले पाँचवटा गुणस्तरीय सडक मार्ग निर्माण तथा स्तरोन्नति भएको बताउनुभयो।
यसैगरी, बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो। केही दिनभित्रै निर्माणको ठेक्का प्रक्रिया अघि बढाइने भन्दै उहाँले प्रशासनिक भवन निर्माणपछि प्रदेश राजधानीको संरचना थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, खेलकुद तथा पूर्वाधार विकासका क्षेत्रमा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती, प्रदेशसभा सदस्यहरू कुमारी मोक्तान, भारती पाठक र प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो।

