हेटौंडा–आफूमाथि बलात्कार भएको भन्दै एक महिलाले जाहेरी दिएपछि गत चैत ३० गतेदेखि प्रहरी हिरासतमा रहेका हेटौंडाका ईन्द्रप्रसाद बन्जरा (रमेश) माथि निष्पक्ष ढंगले छानविन गर्न पत्रकार सम्बद्ध संस्थाहरुले माग गरेका छन् । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ बागमती प्रदेश र महासंघ मकवानपुर शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिलाउनुपर्ने माग गरेका हुन् ।
पत्रकार महासंघ मकवानपुरको सदस्यसमेत रहेका बन्जरालाई नियोजित रुपमा फसाउने षड्यन्त्र भएको भन्दै अवाज उठेपछि महासंघले विज्ञप्तिमार्फत कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम र प्रदेश समितिका महासचिव कृष्ण सारुमगरले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् ।
बलात्कारको आरोप लागेपछि प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट तेस्रो पटक ७ दिनका लागि म्याद थपेको छ ।

