Search
Close this search box.

श्वेतपत्र जारी गर्न माग गर्दै हेटौंडा क्याम्पसका प्राध्यापक आन्दोलनमा

१० महिनादेखि पारिश्रमिक नपाएको गुनासो

हेटौंडा–क्याम्पसको वास्तविक अवस्थाबारेको श्वेतपत्र जारी गर्न गरिएको आग्रहलाई प्रशासनले सुनुवाई नगरेको भन्दै हेटौंडा क्याम्पसका प्राध्यापकहरु आन्दोलित बनेका छन् । गत वैशाख २६ गते क्याम्पस प्रमुखलाई श्वेतपत्र जारी गर्न पब्लिक क्याम्पस प्राध्यापक संघसहित अन्य दुइ वटा पेशागत संगठनले ज्ञापनपत्र बुझाएता पनि त्यसतर्फ आनाकानी गरिएको भन्दै गत सोमबारदेखि प्रध्यापकहरुले आन्दोलनका कार्यक्रम थालेका हुन् ।

अनियमितताको आशंका गर्दै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले हेटौंडा क्याम्पस हेटौंडाको पूर्णकालीन तथा आंशिक प्राध्यापकको भुक्तानी बाँकी रकम, विद्यार्थीबाट उठ्न बाँकी रकम, दाखिला गर्न बाँकी रहेको कर, सञ्चयकोष, उपदानलगायतको विवरण खुलाई श्वेतपत्र जारी गर्न माग गरेका थिए । जायज माग पूरा गर्ने दायित्व विपरीत श्वेतपत्र सार्वजनिक गर्ने माग नै त्रुटिपूर्ण रहेको व्याख्या गर्नतर्फ क्याम्पस प्रशासन लागेकाले आन्दोलनमा विद्यार्थीको पढाईमा बाधा नपुग्नेगरी आन्दोलनमा गएको पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पसका अध्यक्ष भुपेन्द्र कोइरालाले बताए ।

उनका अनुसार हेटौंडा क्याम्पसका आंशिक प्राध्यापकले १० महिनादेखि तलबभत्ता पाएका छ्रैनन् भने पूर्णकालीनको पारिश्रमिक पनि तीन महिनादेखि रोकिएको छ । ‘अहिलेको विद्यार्थी संख्याका आधारमा त हामीलाई तलब भत्ता खानै त समस्या हुनु नपर्ने हो, अनावश्यक खर्च पो भो कि भनेर हामीले क्याम्पसको यथार्थ विवरण मागेका थियौं । त्यो विवरण दिन नचाहेपछि हामी आन्दोलित भएका हौं ।’ संघका अध्यक्ष कोइरालाले भने । हाल क्याम्पसमा १७ जना पूर्णकालीन र १३ जना आंशिक प्राध्यापक कार्यरत छन् भने १२ जना कर्मचारी रहेका छन् ।

प्राध्यापकहरुले जेठ १ गते र २ गते क्याम्पस समयावधिभित्र कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए भने आज जेठ ३ गते क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरुको मोबाइल नम्बरमा ’शिक्षक कर्मचारीको पारिश्रमिक नियमित निकासा गराइदिनुस्, क्याम्पसको वास्तविक आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्न लगाइदिनुस्’ भन्ने सन्देश पठाएका छन् ।

जेठ ४ गतेदेखि संकाय एवं विभागीय जिम्मेवारी वहन नगर्ने, आन्तरिक परीक्षाका प्रश्नपत्र समयमै उपलब्ध गराउने तर माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने, जेठ ५ गतेदेखि ८ गतेसम्म दैनिक १५ मिनेटका दरले बिहान ८ः३० बजेदेखि ८ः४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने र जेठ ९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । क्याम्पसको वास्तविक अवस्था पनि सार्वजनिक नगर्ने र लामो समयसम्म पारिश्रमिकसमेत नदिइनुले क्याम्पसमा अनियमितताको गन्ध आएको एक प्राध्यापकको भनाइ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामाले प्राध्यापकहरुको जायज माग सुनुवाईको क्रममा रहेको बताए । क्याम्पसले हेटौंडा–१६ स्थित हटियामा जग्गा खरिद र भवन निर्माण प्रक्रियाका लागि झण्डै १ करोड रुपैयाँ खर्च भएका कारण पनि क्याम्पसमा आर्थिक समस्या भएको र पारिश्रमिक दिन समस्या भइरहेको स्वीकार गरे । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) का लागि प्रक्रियामा रहेको क्याम्पसले हटियामा ६५ लाख रुपैयाँमा २ कट्ठा जग्गा खरिद गरी भवन निर्माणको काम सुरु गर्न लागेको छ । ‘क्युएएका लागि जग्गा खरिद गर्नु अनिवार्य भएकाले हामीले गत वर्ष जग्गा किन्यौं, त्यसपछि विश्वविद्यालय अनुदान आयोगले ७५ लाख हालिदियो र भवन निर्माणको चरणमा छौं ।’ सहायक क्याम्पस प्रमुख लामाले भने–‘त्यसबाहेक भवनको कन्सल्टेन्ट चार्ज, नक्सा पास, सुपरभिजनमा पनि क्याम्पसकै खर्च हुन पुगेकाले केही समस्या छ ।’

अर्का सहायक क्याम्पस प्रमुख रामबहादुर भण्डारीले क्याम्पसमा घट्दो विद्यार्थीदर र समयानुकुल शुल्क समायोजन नहुँदा पनि क्याम्पसमा आर्थिक समस्या परेको बताउँछन् । विद्यार्थी भर्नादर र भर्ना गरेका विद्यार्थीले बीचमै पढाई छोड्ने दर बढ्दै गएको उनी बताउँछन् । हाल क्याम्पसमा हाल कक्षा १२ देखि स्नातकोत्तरसम्म करिब एक हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan