Search
Close this search box.

बर्सेनि हराउँछन् सयौँ बालबालिका र महिला, कस्तो अवस्थामा भेटिन्छन् ?

मञ्जिता मैनाली

हेटौंडा– मकवानपुर प्रहरी र सिविन बाल हेल्प लाइनले सञ्चालन गरेको बाल हेल्पलाइनमा बर्सेनि सयौँ जना महिला र बालबालिका हराएको उजुरी आउने गरेका छन् । बालबालिका र महिला हराएको भन्दै परिवारले उजुरी दिएपछि प्रहरीले पनि खोजीकार्य गरी उनीहरुको अवस्था पत्ता लगाउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार आव ७८/७९ मा महिला १९४ बालक ४४ बालिका ७८ गरी ३१६ जना हराएका थिए । हराएका ३१६ महिला र बालबालिका सबैलाई प्रहरीले फेला पारेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७९/०८० को हालसम्मको अवधिमा पनि महिला १२९, बालक ३१ र बालिका ७५ जना हराएको भनी प्रहरीमा उजुरी परिसकेका छन् । चालु वर्षको श्रावण महिनामा मौ ३७ बालबालिका र महिला हराएको उजुरी आएको तथ्यांकमा छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडाकुमारी खड्काका अनुसार हराएका बालबालिका मध्ये धेरैजसो बालविवाह गरी आफैँ घर छोडेर हिँड्नेको संख्या बढी रहेको र आमा घर छोडी अन्यत्र जाँदा आमा सहित बालबालिका हराउनेको संख्या पनि बढी रहेको बताइन् ।
घरपरिवारको व्यवस्था र सानो उमेरमै बालबालिकाको हातमा मोबाइल दिँदा दुरुपयोग भई अन्यत्र जाने र लागुऔसध दूव्र्यसनीमा फसेको कारण पनि कतिपय बालबालिका घर छोडी अन्यत्र जाने गरेको उनले बताइन् । परिवारको रेखदेख हुन नसक्दा र परिवारले समय दिन नसक्ने कारण धेरै जसो मध्यम वर्गको र निम्न वर्गको बालबालिका हराउने गरेको उनको भनाइ छ ।

परिवारले यौन शिक्षा दिन नसक्दा, सानो उमेरमा बालबालिकालाई विवाह गर्न हुन्न भन्ने सहि शिक्षा दिन नसक्दा पनि बालबालिका बढी हराउने गरेको र प्रकृतिको नियमलाइ कानुनले नियन्त्रण गर्न खोज्दा पनि बढी जसो बालबालिका हराउने गरेको उनले बताइन् । हराएका बालबालिका खोजी कार्य गरी ल्याउँदा पनि पटक पटक हराउने गरेको अवस्था रहेको र कति बालबालिकालाई परिवारले सम्हाल्न नसकी जाहेरी दिने मुद्दा दर्ता समेत गर्ने गरेको प्रहरी निरीक्षक चूडा कुमारी खड्काले बताइन् । हराएका धेरैजसो बालबालिका प्रहरीले खोजी कार्य गरी भेटिन्छन् भने केही बालबालिका घरपरिवारले नै ल्याउने गरेको उनले बताइन् ।

बालबालिका हराउने क्रमलाइ रोक्न बालबालिकालाई बालविवाह र यौनको शिक्षा घरपरिवारले दिनुको साथै बालबालिकाको रेखदेख गर्नु र बालबालिकालाई समय दिनु अति आवश्यक रहेकोे उनको भनाइ छ ।

बाल हेल्प लाइनको तथ्यांक अनुसार ७८/७९ मा बालक ६ र बालिका ४ गरि १० जना बालबालिका हराएका छन् । तीमध्ये ८ बालबालिका फेला परिसकेको तथ्यांकमा छ ।

७९/८० को हालसम्म बालक ८, बालिका २ गरी १० जना हराएका छन् भने हराएका मध्ये सबै बालबालिका फेला परिसकेका छन् ।

मकवानपुर बाल हेल्प लाइनका प्रबन्धक झबेन्द्र ज्ञावालीका अनुसार धेरै जसो बालबालिका बालविवाह गरेर भागेको अवस्थामा भेटिन्छन् भने केही बालश्रमको लागि ठेकेदारहरुले लगेको अवस्थामा भेटिन्छन् । विद्यालय जान छोडेका कति बालबालिका साथी संगतमा लागी घर छोडी सडक बालक भइ गरेको उनले बताए । बालबालिका हराउने क्रमलाई रोक्नको लागि अभिभावकको मुख्य भुमिका रहने उनले बताए । बालबालिका विद्यालय जान्छन् वा अन्यत्र हिँड्छन कस्तो सङ्गत छ भन्ने कुराको अभिभावकले आफ्नो बालबालिका प्रति सम्वेदनशील भएर सोच्न आवश्यक रहेको उनको भनाइ छ ।

बालबालिकालाई सचेतनाको लागि बालबालिकाको क्षेत्रमा बजेट छुटाउने , विभिन्न बाल समूह गठन गरी सचेतना मुलक कार्यक्रमहरु समेत गर्न आवश्यक रहेको बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan