हेटाैंडा ७ जेठ – क्याम्पसको वास्तविक अवस्थाबारेको श्वेतपत्र जारी गर्न क्याम्पसले अटेर गरेपछि आन्दाेलित बनेका हेटाैंडा क्याम्पसका प्राध्यापकहरुकाे आन्दाेलन स्थगित भएकाे छ । सञ्चालक समिति, क्याम्पस प्रशासन र प्राध्यापककाे प्रतिनिधिबीच आइतबार भएकाे वार्तामाबीच क्याम्पसकाे वास्तविक अवस्थाबारेकाे श्वेतपत्र प्रस्तुत गरेपछि प्राध्यापकहरु आन्दाेलन स्थगित गर्न राजी भएका हुन् ।
‘हामीले क्याम्पससँग ठूलाे केही माग गरेका थिएनाैँ, क्याम्पसकाे वास्तविक अवस्थाबारे श्वेतपत्र माग गरेका थियाैँ, आज त्याे पायाैं, हामीले त्यसलाई केलाएर हेर्दैछाैं, हाललाई हाम्राे आन्दाेलनका कार्यक्रम स्थगित भएकाे छ ।’ पब्लिक क्याम्पस प्राध्यापक संघ हेटाैंडा क्याम्पसका सचिव दिपेन्द्र ढकालले भने ।
गत वैशाख २६ गते क्याम्पस प्रमुखलाई श्वेतपत्र जारी गर्न पब्लिक क्याम्पस प्राध्यापक संघसहित अन्य दुइ वटा पेशागत संगठनले ज्ञापनपत्र बुझाएता पनि त्यसतर्फ आनाकानी गरिएको भन्दै गत सोमबारदेखि प्रध्यापकहरुले आन्दोलनका कार्यक्रम थालेका थिए ।
अनियमितताको आशंका गर्दै नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघले हेटौंडा क्याम्पस हेटौंडाको पूर्णकालीन तथा आंशिक प्राध्यापकको भुक्तानी बाँकी रकम, विद्यार्थीबाट उठ्न बाँकी रकम, दाखिला गर्न बाँकी रहेको कर, सञ्चयकोष, उपदानलगायतको विवरण खुलाई श्वेतपत्र जारी गर्न माग गरेका थिए ।
प्राध्यापकहरुका अनुसार हेटौंडा क्याम्पसका आंशिक प्राध्यापकले १० महिनादेखि तलबभत्ता पाएका छैनन् भने पूर्णकालीनको पारिश्रमिक पनि तीन महिनादेखि रोकिएको छ । साेही विषयलाई लिएर क्याम्पसकाे वास्तविक आर्थिक अवस्थालगायत विषय समेटेकाे श्वेतपत्र माग गरिएकाे थियाे । हाल क्याम्पसमा १७ जना पूर्णकालीन र १३ जना आंशिक प्राध्यापक कार्यरत छन् भने १२ जना कर्मचारी रहेका छन् ।
प्राध्यापकहरुले जेठ १ गते र २ गते क्याम्पस समयावधिभित्र कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए भने जेठ ३ गते क्याम्पस सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरुको मोबाइल नम्बरमा ’शिक्षक कर्मचारीको पारिश्रमिक नियमित निकासा गराइदिनुस्, क्याम्पसको वास्तविक आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्न लगाइदिनुस्’ भन्ने सन्देश पठाएका थिए ।
प्राध्यापकहरुले जेठ ४ गतेदेखि संकाय एवं विभागीय जिम्मेवारी वहन नगर्ने, आन्तरिक परीक्षाका प्रश्नपत्र समयमै उपलब्ध गराउने तर माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने, जेठ ५ गतेदेखि ८ गतेसम्म दैनिक १५ मिनेटका दरले बिहान ८ः३० बजेदेखि ८ः४५ बजेसम्म क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्ष अगाडि धर्ना बस्ने र जेठ ९ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

