हेटौंडा–बसको झ्यालबाट बाहिर हात निकालेका एक यात्रुको अर्को सवारीको ठक्करबाट हात चुँडिएको छ । ती यात्रुको उपचारको क्रममा मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित रजैयामा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको मिनी बसमा सवार एक यात्रुको विपरित दिशाबाट जाँदै गरेको ट्रकमा ठोक्किँदा दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडिएको हो । आज बिहान करिब ११ः२५ बजेको समयमा उक्त दूर्घटना भएको हो ।
बा ३ ख ८३९४ नं. को बसमा सवार अन्दजी ३०–३२ वर्षका नाम थर नखुलेको पुरुषको विपरित दिशाबाट जाँदै गरेको ग १ क २२९७ नं.को मिनि ट्रकमा हात ठोकिँदा चुँडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात चुँडिएर घाइते भएका ती पुरुषलाई चुँडिएको हातसहित उपचारको लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

