Search
Close this search box.

‘भ्रामक’ प्रचार नगर्न राक्सिराङ अध्यक्षकाे आग्रह

हेटाैंडा- मकवानपुरकाे राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले नियमविपरीत भ्रमण खर्च लिएकाे भन्दै विभिन्न माध्यमबाट भ्रामक प्रचार भएकाे भन्दै राक्सिराङ गाउँपालिकाले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै महालेखापरीक्षकको कार्यालयबाट प्राप्त आ.व. २०७८ / ०७९ को वार्षिक लेखा परिक्षण प्रतिवेदनको क्र. सं. २२ मा भ्रमण खर्चको सम्बन्धमा औँल्याइए बमोजिम सो खर्च नियमसंगत नदेखिएको भन्ने व्यहोरा प्रारम्भिक प्रतिवेदनबाट जानकारी आए पश्चात सो रकम तत्काल गाउँपालिकाको आन्तरिक राजस्व खातामा फिर्ता जम्मा गरी जानकारी समेत गराइएको जनाइएकाे छ । महालेखा परीक्षकको कार्यालयको अन्तिम प्रतिवेदनमा सो व्यहोरा उल्लेख भई आएको र आगामी लेखापरीक्षणका क्रममा मात्र सम्परीक्षण गरी उक्त व्यहोरा हटाइने व्यवस्था रहेकोले हाल सार्वजनिक प्रतिवेदनमा उक्त कुरा समावेश हुन गएको गाउँपालिकाले जनाएकाे छ । ‘वडा कार्यालयको भ्रमणमा नभई कार्यालयको विषयगत शाखाहरुबाट सम्पादन भएका कार्यक्रमहरुको अनुगमन तथा सुपरिवेक्षणका लागि गरिएको नियमित कार्यवापत गरिएको भ्रमणका सन्दर्भमा उक्त प्रतिवेदनमा स्पष्ट रूपमा बेरुजु कायम तथा असुलउपर गर्नुपर्ने नभई राय/सुझावको रुपमा आएको विषय भएता पनि नियामक निकायको राय / सुझाव बमोजिम फिर्ता गर्नु नपर्ने रकम समेत फिर्ता दाखिला गरी अनियमित र नियम सङ्गत हुन नजाने क्रियाकलापहरु सम्पादन गर्न नहुने तर्फ सचेत भई राक्सिराङ्गको सेवाप्रवाह तथा सुशासनमा जोड दिँदै आएको छु ।’ गाउँपालिका अध्यक्ष मल्लद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कानून बनाई सुविधा उपयोग गर्न सक्ने अवस्था रहेता पनि विविध किसिमका भत्ता तथा सुविधा नलिएकाे विज्ञप्तिमार्फत प्रष्ट्याइएकाे छ ।

नियतवस व्यक्तिगत लाल्छना तथा चरित्रमा आँच आउने क्रियाकलाप कहिँकसैबाट भएमा प्रचलित कानून बमोजिम प्रक्रिया अघि बढाइने अध्यक्ष मल्लले चेतावनी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan