Search
Close this search box.

साउदीबाट फर्किएर भैँसीपालन, मासिक २ लाख आम्दानी

सफलताको कथा

खैरहनी (चितवन), ८ असार/ दृढ अठोट र इच्छाशक्तिले मानिसलाई सफल बनाउँछ भन्ने उदाहरण बनेका छन् चितवनको खैरहनी नगरपालिका–२ का ४० वर्षीय गोविन्दराज सुवेदी । जीवनमा धेरै किसिमका पेशा र व्यवसाय गर्दै सशस्त्र द्वन्द्वको त्रासमा साउदी अरबसमेत पुगेका सुवेदीले त्यहाँबाट फर्किएर डेरी सञ्चालका साथै भैंसी पालेरै लाखौँ आम्दानी गरिरहेका छन् । उनलाई चिन्नेहरु उनको मेहनत र लगावको खुलेर प्रसंशासमेत गर्छन् । साउदीमा डेढ वर्ष प्लम्बिङ क्षेत्रमा काम गरेका सुवेदीले नेपालमै केही गर्ने अठोट बोकेर स्वदेश फर्किएर व्यवसाय गर्न थालेपछि पैसाको लागि अन्त फर्केर हेर्नुपरेको छैन ।

साउदीबाट फर्किएर दूध डेरीबाट व्यवसाय थालेका सुवेदीले सोही डेरीबाट दूध र दुग्धजन्य पदार्थ बिक्री गर्नका लागि आफैँले नै ८ वर्षअघिदेखि भैंसी पाल्न सुरु गरे । अहिले उनको खोरमा करिब ५० वटा भैंसी छन् । दैनिक करिब डेढ सय लिटर दूध उत्पादन गर्छन् भने आफ्नै डेरीबाट विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गरी उपभोक्तामाझ पुर्याउँछन् । ‘विदेशको दुःख र कष्ट देखेर, भोगेर आएँ, आफ्नै अगाडि एकजना नेपाली ढलेर मृत्यु भएपछि मेरो सोच फेरियो ।’ सवेदीले भने –‘त्यसपछि बरु नेपालमा साग बेचेर बस्छु तर विदेश फर्कन्नँ भनेर नेपाल आएको हुँ । त्यहाँबाट आएर कडा मेहनतका साथ व्यवसाय गरेँ अहिले सोचेजस्तै आम्दानी र सन्तुष्टी पनि मिलेको छ ।’

सुवेदीले सबै किसिमको खर्च कटाएर हाल मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको सुनाए । उनले आफूमात्रै स्वरोजगार बनेका छैनन्, २ जनालाई रोजगारसमेत दिएका छन् । २ जना कामदारबाहेक परिवारका पत्नी र भाइले पनि उनलाई व्यवसायमा सघाउने गर्दछन् । पञ्चकन्या कृषि फार्मको नामबाट सञ्चालित उनको व्यवसाय फस्टाउने क्रममै छ । ८ वर्षअघि करिब २० लाख लगानी गरी ७ वटा भैंसीबाट भैंसी पाल्न सुरु गरेका सुवेदीले हाल आफ्नो लगानी करिब ७० लाख रुपैयाँ पुर्याएका छन् ।

आफ्नै ८ कट्ठा जग्गामा फार्म राखेकोमा अन्य डेढ बिगाहा जग्गा भाडामा लिएर घाँससमेत खेती गरेका छन् । एसएलसीसम्म मात्रै अध्ययन गरेका सुवेदीले एसएलसी पास गरिसकेपछि साइकल पसल र किराना पसलसमेत सञ्चालन गरे । साइकल र किराना पसलबाट राम्रै आम्दानी पनि भएको थियो । माअ‍ेवादी द्वन्द्वको त्रास उत्तिकै थियो । साथीहरु सबै युद्धमा होमिएका थिए । आफूलाई पनि त्यतै लैजाने डरले उनी भने २०५९ सालतिर साउदी हान्निएका थिए । साउदीमा आम्दानी पनि कम र दुःख कष्ट बढी हुने भएपछि डेढ वर्षमै उनी स्वदेशमै केही गर्ने अठोट बोकेर स्वदेश फर्किएका थिए ।

सुवेदीले भाडाको खेतमा गरेको घाँसखेती ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले भैंसीपालनमा अनुदान दिन थालेपछि सुवेदी झनै उत्साहित बनेर काम गरिरहेका छन् । आयोजनामार्फत गाृठ निर्माण, मेसिनरी खरिद र भैंसी थप गर्न ५० प्रतिशत अनुदान सम्झौता भएको छ । सम्झौताअनुसार उनले भर्खरै गोठ निर्माण, चाफकटर, घाँस काट्ने मेसिन, ठेलागाढालगायत मेसिनरी सामान खरिद गरेका छन् । उनले ३० लाख बराबरको काम गरेपछि आयोजनाअन्तर्गतको ईकाई कार्यालय हेटौंडाबाट पहिलो किस्ताबापत करिब १५ लाख रुपैयाँ भुक्तनी पाइसकेका छन् ।

‘आयोजनाले हाम्रो फार्मलाई अनुदान दिने भएपछि मलाई झन उर्जा थपिएको छ । व्यवसाय विस्तारकै क्रममा छु । अहिलेसम्म ४५ लाख बराबरको काम भइसकेको छ । अब अनुदानबाट प्राप्त हुने दोस्रो किस्ता माग्न जाँदैछु ।’ सुवेदीले भने । उनको फार्मको कुल लगानी ७६ लाख पुर्याउने र त्यसको ५० प्रतिशत अर्थात करिब ३८ लाख रुपैयाँ आयोजना कार्यान्वयन ईकाईले अनुदान दिनेगरी सम्झौता भएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाका प्रमुख विदुर गौतमले बताए । किसानलाई व्यावसायिक बनाउँदै आधुनिक तरिकाबाट गाईभैंसी र बाख्रा पालन गरी दूध र मासुको उत्पादन बढाउने गरी आयोजनामार्फत काम भइरहेको ईकाई प्रमुख गौतमको भनाइ छ ।

आयोजना मातहत हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम दूध र मासु उत्पादन बढाउन विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । ईकाई प्रमुख गौतमका अनुसार हाल ईकाई मातहत ६९ वटा समूह सहकारीतर्फका उपआयोजनाहरु सञ्चालनमा छन् भने निजीतर्फ ३९ वटामा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४÷०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ । दूध, खसीबोकाको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, दूध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने, पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउनेलगायतका उद्देश्यले आयोजनाले व्यावसायीकरण र यान्त्रीकरणमा अनुदान दिने गरेको छ ।

२०८० असार मसान्तसम्मको समयसिमा निर्धारण गरेको आयोजना सम्पन्न भइसक्दासम्म गाई र भैसीको दूधमा ४०% बृद्धि हुने, खसी–बोकाको मासु उत्पादनमा २०% बृद्धि हुने, उत्पादित दूध, मासु र पश्मिनाको बिक्री ३०% ले बढ्ने अपेक्षा राखेको छ । आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan