Search
Close this search box.

राक्सिराङले निशुल्क स्वास्थ्य बस सेवा सञ्चालन गर्ने

राक्सिराङ, ९ असार/ सिमान्तकृत चेपाङ र पिछडिएका तामाङ जातिकाे बसाेबास रहेकाे मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले स्थानीयकाे स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने क्रममा वडा वडामा निशुल्क स्वास्थ्य बस सेवा सञ्चालन गर्ने भएकाे छ । शनिबार आगामी आव २०८०/०८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ आधारभूत अस्पतालकाे सेवा विस्तार गर्दै नागरिकलाई अस्पताल आउन सहजताकाे लागि वडा वडाबाट निशुल्क बस सेवा सञ्चालनको चालन गरिने घाेषणा गरेका हुन् ।

‘गाउँपालिकाबासीहरुको आफ्नै राक्सिराङ्ग आधारभुत अस्पताललाई प्रयाप्त जनशक्ति र प्रविधियुक्त बनाई स्वास्थ्य बिमा र फार्मेसी सहितको सेवा सञ्चालन गरी यहाँका बिरामीहरुलाई आफ्नै पालिकाभित्र गुणस्तरिय स्वास्थ्य सेवा निरन्तर प्रदान गर्न गाउँपालिका अन्तर्गतका वडाहरुबाट राक्सिराङ्ग आधारभुत अस्पतालसम्म निःशुल्क स्वास्थ्य बस सेवा सञ्चालन गरिनेछ ।’ गाउँपालिकाकाे नीती तथा कार्यक्रममा भनिएकाे छ । गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न घरपरिवारहरुलाई ७५ प्रतिशत अनुदानमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराई गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्न स्वास्थ्य बीमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाइएकाे छ ।

स्थानीय जनतामा गुणात्मक स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न विशेषज्ञ सेवा सहितको घुम्ती स्वास्थ्य शिविर कार्यक्रमलाई निरन्तरता दिनुका साथै दम, क्षयरोग, मोतिविन्दु आदिलाई निवारण गर्न प्रभावित क्षेत्रमा उक्त रोगहरुसँग सम्बन्धित विशेष कार्यक्रम सञ्चालन गर्ने याेजना गाउँपालिकाले बनाएकाे छ ।

परिवार नियोजन, प्रसुती सम्बन्धी सेवा, स्त्रीरोग सम्बन्धी स्वास्थ्य सेवाको विस्तार र स्वास्थ्य सेवामा
नागरिकहरुको पहुँच विस्तार गर्ने तथा आकस्मिक अवस्थामा उपचारको व्यवस्था गरिने पनि प्रतिवद्धता जनाइएकाे छ । प्यालिएटिभ केयर तथा प्रशामक सेवालाई प्रभावकारी बनाउन आमा बुवा वचाउ तथा प्रशामक सेवा कार्यक्रमलाई निरन्तरता दिइने घाेषणा गरिएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan