हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपन्न चेपाङ परिवारलाई जाडोबाट जोगाउन न्यानो कपडा उपलब्ध गराउनुका साथै आवासविहीन परिवारका लागि घर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार मकवानपुरको मनहरी गाउँपालिकास्थित चेपाङ बस्तीको निरीक्षण गर्दै मुख्यमन्त्री थापा मगरले वर्षौंदेखि राज्यको मूलप्रवाहबाट वञ्चित चेपाङ समुदायको जीवनस्तर सुधार गर्न प्रदेश सरकार संवेदनशील रहेको बताए ।
बढ्दो चिसोलाई ध्यानमा राख्दै न्यानो कपडाको अभावमा कसैले पनि कठ्याङ्ग्रिनु नपर्ने र आवासको अभावमा कष्ट भोग्नुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने उनको भनाइ थियो ।
चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्न कुखुराका चल्ला तथा बाख्राका पाठापाठी वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनले जानकारी दिए । मुख्यमन्त्री थापा मगरले बाख्रा मासुका लागि काटेर खानुभन्दा पालनपोषण गरी संख्या वृद्धि गर्न आग्रह गर्दै पशुपालनलाई आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए ।
यसैबीच, नेकपा एमाले मनहरी गाउँपालिका–६ कमिटीले चेपाङ समुदायका तीन विपन्न परिवारका लागि निर्माण गरेका घर हस्तान्तरण गरेको छ । मानबहादुर प्रजा, रवीलाल प्रजा र सूर्यबहादुर प्रजाका परिवारलाई मुख्यमन्त्री थापा मगरले बिहीबार घर हस्तान्तरण गरेका हुन् ।
एमालेले पार्टी सदस्यहरूबाट रकम संकलन गरी प्रतिघर तीन लाख रुपैयाँको लागतमा घर निर्माण गरेको जनाएको छ ।
घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले घरबारविहीन नागरिकका लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले एक हजार घर निर्माण गर्ने लक्ष्यसहित बजेट व्यवस्था गरेको छ ।
‘एक घर निर्माणका लागि चार लाख रुपैयाँ बजेट राखेका छौँ । प्रदेश सरकारले एक हजार घर बनाउने गरी बजेट विनियोजन गरेको छ । जसको घर छैन, उहाँहरूकै लागि उक्त बजेट छुट्याएका छौँ । तिहारपछि नै हामीले त्यो काम सुरु गर्छौँ,’ उनले भने ।
उनले आवासविहीन चेपाङ परिवारलाई समेत प्रदेश सरकारको आवास कार्यक्रममार्फत समेटिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला, जिल्ला अध्यक्ष हृदयराम लामा लगायतका नेता तथा स्थानीयवासीको उपस्थिति थियो ।

