हेटौंडा–हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ ले आफ्नो वडाका ७५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकोछ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयले ५ वटा टोल विकास संस्थाका ज्येष्ठ नागरिकलाई खादा, ब्ल्यांकेट, लौरो र जनही नगद ५ सय रुपैयाँ दिएर सम्मा गरिएको हो ।
जेष्ठ नागरिक मञ्च हेटौंडा १६ का अध्यक्ष देवनारायण ढकालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रमूख अतिथि बानियाँले बृद्धबृद्धाहरुको उचित स्याहारसुसार र हेरबिचार गर्नु राज्यको दायित्व हुन आउने बताउँदै यसतर्फ वडाले ध्यान दिनुपर्नेमा जोड दिए ।
नेता बानियाँले परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुको उचित हेरविचार गर्नुपर्ने बताए । वडाका बाँकी १० टोल विकासका जेष्ठ नागरिकलाई साउनको पहिलो साता सम्मान गरिने योजना बनाइएको हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, समाजसेवीहरु रामकृष्ण तिवारी, महेश ढकाल, अर्जुनप्रसाद वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

