हेटाैंडा- मनहरी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई आफ्नो पारिश्रमिक पुरस्कारस्वरुप प्रदान गरेका छन् । महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयका ३ विद्यार्थीलाई आज एक कार्यक्रमका बिच वडाअध्यक्ष अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक पुरस्कार दिएका हुन् ।
महेन्द्र ज्योतिबाट सर्वोत्कृष्ट नतिजा ३.१० जिपिए प्राप्त गर्न सफल प्रिन्सा पौडेललाई नगद रु १० हजार सहित प्रमाण पत्र र खादा दिइएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सिना र स्वस्तिका बर्तौलालाई जनही ४/४ हजार नगद र खादा सहित सम्मान गरिएको थियो ।
आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले आफ्नो एक महिनाको पारिश्रमिक उपहार दिइएको वडाअध्यक्ष अर्यालले बताए ।
उपहार हस्तान्तरण कार्यक्रममा विद्यालयमा ४३ वर्ष शिक्षकका रुपमा अवकाश भएका नरहरी नन्दन उप्रेती, वडा सदस्य हिरा बहादुर प्रजा, वडा सचिव दिपेश महत्तो लगायतले बधाई तथा शुभकामना दिएका हुन् ।
कार्यक्रम महेन्द्र ज्योति माविका सहायक प्रधानाध्यापक विदुर थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

