Search
Close this search box.

चलचित्र ‘बगान’ प्रदर्शनमा

चलचित्र ‘बगान’ प्रदर्शनमा आएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए ।

अभिनेताका रूपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् । सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताए ।

उनले भने, ‘एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।’

उनले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि निर्देशक खनालले चलचित्रको स्वरूप दिएको बताए । ‘म निर्देशकभन्दा पनि कथावाचक हुँ, यसमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरेको छु’, निर्देशक खनालले भने ।

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् ।

प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan