हेटौंडा, ६ साउन– महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।
नेपाली भाषा र साहित्यको उन्नयन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै भटट्राईलाई पुरस्कृत गरिएको हो ।महालक्ष्मी विकास बैंकका बागमती प्रदेश प्रबन्धक शम्भु पराजुली, कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केदारनाथ खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेललगायतले भट्टराईलाई खादा, माला र नगदसहित पुरस्कार प्रदान गरेका थिए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदातासमेत हुन् । मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको यो २१ औं पुरस्कार हो । अघिल्लो वर्ष यो पुरस्कार साहित्यकार श्रवण मुकारुङले प्राप्त गरेका थिए ।यस्तै मातृभूमि साहित्य समाज मकवानपुरले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको थियो । पुरस्कार वितरण समारोहकाबीच रचना वाचन कार्यक्रमसमेत राखिएको थियो । साहित्यकारहरु पुष्प अन्जली अधिकारी, बैकुण्ठ लामिछाने, किशन पौडेल, सानु खनाल, सुवास सजल, सुवास खनाललगायतले रचना वाचन गरेका थिए ।

