२ सय रोपनी जग्गा सम्झौता गरेर ८ वर्षसम्म पनि चलेनन् उद्योग
हेटौंडा – हेटौंडा औद्योगिक क्षेत्रको करिब २ सय रोपनी जग्गा ८ वर्षदेखि ९ वटा उद्योगको नाममा ओगटिएको छ । २ वर्षभित्र उद्योग सञ्चालन गर्नेगरी २०७२ र २०७३ सालमा सम्झौता गरेका उद्योगहरुले यतिका समय बितिसक्दा पनि कुनै संरचना बनाएका छैनन् । हाल औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापना गर्न चाहनेले जग्गा प्राप्त गर्न मुस्किल छ तर, विभिन्न समस्या देखाएर उद्योगको संरचनासमेत नबनाई ९ वटा उद्योगले करिब २ सय रोपनी जग्गा ओगटेर बसेका हुन् ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले त्यस्ता उद्योगहरुलाई निर्माणाधीन उद्योगको सूचीमा राखेको छ । कार्यालयका अनुसार हाल हेटौंडा औद्योगिक क्षेत्रभित्र १९ वटा उद्योग निर्माणधीन अवस्थामा रहेका छन् । जसमध्ये ९ वटा उद्योगले २०७२ र ७३ सालमा जग्गा सम्झौता गरेका थिए । औद्यागिक क्षेत्रभित्र रही विस्कुट र बेकरी उत्पादन गर्ने उद्देश्यले २०७२ मा ७ दशमलव ३ रोपनी जग्गा भाडामा लिएको नाथ फुड्स इन्डष्ट्रिज प्रालिले हालसम्म कुनै संरचना बनाएको छैन । त्यसैगरी २०७३ सालमा सम्झौता गरेको लक्ष्मी पेन्ट्स् उद्योग, श्री विवाइएस हेटौैडा प्रालि, थ्री स्टार ग्रुप ई प्रालि, सि एभरेष्ट एण्ड काइफु नेपाल प्रालि, सनराइज कन्टेनर्स प्रालि, नेविको प्रालि, साउथ एसिएन ब्रुअरी प्रालि र श्री अविनाश एग्स प्रालिले पनि उद्योग सञ्चालन गर्ने कुनै निश्चितता छैन ।
९ वटामध्ये साउथ एसिएन ब्रुअरी प्रालिले सबैभन्दा धेरै एक सय ५ दशमलव ३६ रोपनी जग्गा ओगटेको छ । जग्गा सम्झौता गरेर संरचना पनि नबनाउने र सञ्चालनमा पनि नआउने उद्योगहरुलाई आफूहरुले पटकपटक सूचना निकालेर चेतावनी दिइएको हेटौंडा औद्यागिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीको भनाइ छ । ‘जग्गा सम्झौता गरी किन उद्योग सञ्चालन नल्याइएको भनी हामीले पटकपटक उद्योगलाई पत्र पनि पठाएका छौँ, सूचना निकालेर सम्झौता खारेजीको चेतावनी पनि दिएका छौँ । तर, उहाँहरुले विभिन्न समस्या देखाएर उद्योग स्थापनाको क्रममा रहेको भनी स्पष्टीकरण दिइरहनुहुन्छ ।’ कार्यालय प्रमुख विनाडीले भने । पुराना सम्झौताका ९ उद्योगबाहेक २०७७ सालयता सम्झौता भएका अन्य १० वटा उद्योग पनि कार्यालयको सूचीमा निर्माणाधीन रहेका छन् । ती १० वटा उद्योगले करिब ९० रोपनी जग्गा भाडाको सम्झौता गरेका छन् । त्यसमध्ये केही उद्योगको २ वर्षे अवधि नाघिसकेको छ भने केहीको सम्झौता अवधि बाँकी नै रहेको छ ।
उद्योग सञ्चालन गरिसक्नुपर्ने अवधि नाघेका उद्योगहरुको सम्झौता रद्द गरिने चेतावनीसहितको सूचना हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पछिल्लो पटक २०७९ साल असोज २ गते प्रकाशित गरेको थियो । ३५ दिनको समयावधि तोकेर सूचना जारी गरिएता पनि कार्यालयले हालसम्म ती उद्योगहरुको सम्झौता रद्द गरेको छैन । ‘सूचना प्रकाशनका साथै हामीले पत्र पनि पठाएका थियौँ, त्यसपछि सबैले कोरोना प्रभाव र आर्थिक मन्दी जस्ता समस्या दर्शाएर हामीलाई पत्रको जवाफ पठाए । करिब १० महिना, १ वर्षभित्र सञ्चालन गरिसक्छौँ भनेर पत्र पाएपछि हामीले थप कदम चालेनौँ ।’ औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख विनाडीले भने–‘उनीहरुले मागेको समय पनि सकिसकेकाले अब हामी अन्तिम विकल्पको प्रयोग गर्छौँ ।’
उद्योगीहरुकै संस्थाले पनि उद्योगीको नाममा जग्गा ओगटेर बस्ने प्रवृत्तिको विरोध गरिरहेका छन् । उद्योग संघ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले वर्षौँदेखि जग्गा ओगटेर बस्ने उद्योगहरुको सम्झौता खारेज गर्नुपर्ने प्रतिक्रिया दिए । ‘नयाँ उद्योग चलाउँछु भनेर आउनेहरुले जग्गा पाएका छैनन्, अनि विभिन्न शक्तिको आडमा उद्योगको नाममा अनावश्यक जग्गा ओगटेर बस्नेहरुलाई किन राखिराख्ने ?’ प्याकुरेलले भने–‘यसमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कडा कदम चाल्नैपर्छ । यतिका अवधिसम्म पनि जग्गा भाडाको सम्झौता खारेज नगर्नु कार्यालयको कमजोरी हो । सम्झौता गरेका कतिपय उद्योगहरुले त लाइसेन्ससमेत नपाएको भन्ने मैले सुनेको छु ।’ औद्योगिक क्षेत्रमा नयाँ उद्योगी थपिने पक्ष सुखद हुँदाहुँदै जग्गा मात्रै ओगटेर उद्योग सञ्चालन नगर्ने प्रवृत्ति गलत भएको अध्यक्ष प्याकुरेलको तर्क छ ।
मुलुककै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा हाल एक सय ६ वटा उद्योगहरु सञ्चालमा रहेका छन् । ३२ सय २८ रोपनी क्षेत्रफलमा रहेको औद्योगिक क्षेत्रको १९ सय ६६ रोपनी क्षेत्रमा उद्योगहरु स्थापना भएका छन् । औद्योगिक क्षेत्रमा निर्माण सामाग्री, प्लाष्टिक, बिद्युत तथा बिद्युतीय सामान, खाद्यान्न तथा पेय पदार्थ, फर्निचर, काठ चिरान, इन्जिनियरिङ, प्याकेजिङ्ग, केमिकल÷रङ्गरोगन, टेक्सटाइल्स लगायतका उद्योगहरु रहेका छन् ।
९ वटा उद्योग बन्द अवस्थामा
हेटौंडा औद्योगिक क्षेत्रमा हाल ९ वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् । विभिन्न कारणले विभिन्न समयमा बन्द भएका ती उद्योगहरुले आफ्नो संरचना हटाएका छैनन् भने जग्गा सम्झौता पनि खारेज गरेका छैनन् । बन्द अवस्थामा रहेका ती उद्योगले करिब ढेढ सय रोपनीभन्दा बढी जग्गा ओगटेका छन् । बन्द उद्योग पुनःसञ्चालन तथा संरचना हटाउन औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले आग्रह गरेता पनि त्यसको कार्यान्वयन नभएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख विनाडीले बताए ।
‘केही उद्योगहरु लामो समयदेखि बन्द छन्, उनीहरुलाई कि त पुनः सञ्चालन गर्नु कि त संरचना हटाउन भनेका छौँ । धेरै जसोले पुनसञ्चालन गर्ने जानकारी दिएकाले हामीले कुनै प्रक्रिया अघि बढाएका छैनौँ ।’ उनले भने । औद्योगिक क्षेत्रभित्र रहेका नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, हिमालयन पोलिमर्स प्रालि, बाबा म्यानुफ्याक्चरिङ प्रालि, ग्रिनगोल्ड इन्टरनेशनल प्रालि, बानियाँ मल्टि प्रोडक्ट्स प्रालि, सन्नी डिष्टिलरी प्रालि, नेपाल ब्रुअरिज प्रालि, त्रिपुरा इण्डष्ट्रिज प्रालि र इन्भारोप्लाष्ट नेपाल प्रालि बन्द अवस्थामा रहेका छन् ।
५ वर्षपछि ५ प्रतिशत भाडा वृद्धि
हेटौँडा औद्योगिक क्षेत्रको जग्गाको भाडा ५ प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ को साउन १ गतेदेखि औद्योगिक क्षेत्रको भाडादर वृद्धि भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । २०७५ सालयता बार्षिक भाडादर प्रतिरोपनी प्रतिवर्ष १९ हजार ६९१ रुपैयाँ २१ पैसा रहेकोमा चालु वर्षदेखि बढेर २० हजार ६७५ रुपैयाँ ७७ पैसा पुगेको कार्यालय प्रमुख विनाडीले बताए ।
हरेक पाँच बर्षमा भाडादर पुनरावलोकन गर्ने निर्णयअनु्रुप भाडा वृद्धि गरिएको उनले बताए । यसअघि २०७५ सालमा भाडा निर्धारण भएको थियो । यस बर्ष भाडा पुनरावलोकन गर्न समितिले सिफारिस गरेपछि संचालक समितिले अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

