Search
Close this search box.

किन बढ्दैछ आत्महत्या, मकवानपुरमा एक वर्षमा एकसय ४० जनाले ज्यान फाले

मन्जिता मैनाली

हेटौंडा– नेपालमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । नेपाल मात्र नभइ विश्वकै लागि आत्महत्या चिन्ताको विषय बनेको छ । मकवानपुरमा पनि पछिल्लो समय दैनिकजसो आत्महत्याका घटनाहरु हुने गरेका छन् ।
प्रहरीको तथ्यांकअनुसार मकवानपुरमा आत्महत्याको दर बर्सेनि बढ्दै गएको छ । पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा मात्र जिल्लामा एक सय ४० जनाले आफैंलाई हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विष सेवन गरेर ४३ जना, आगो लगाएर १ जना, झूण्डिएर ९५ जना र १ जनाले हाम्फालेर आत्महत्या गरेका छन् । जसमध्ये ९६ जना पुरुष रहेका छन् ।
त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ आत्महत्या गर्नेको संख्या एक सय १२ जना रहेको थियो । जसमध्ये ७४ जना पुरुष रहेका थिए । त्यसवर्ष विशेष सेवनबाट ३० जना, आगो लगाएर १ जना, झुण्डिएर ७९ जना र पानीमा हाम्फालेर (डुवेर) २ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७७ ०७८ मा आत्महत्या गर्नेको संख्या उत्तिकै थियो । त्यस वर्ष एक सय ३० जनाले आत्महत्या गरे । जसमध्ये पुरुष ८० जना रहेका थिए । त्यसवर्ष विष सेवन गरेर ४६ जना, झण्डिएर ८३ जना र पानीमा हामफालेर(डुवेर) १ जनाले आत्महत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की गरिबी र आर्थिक मन्दीका साथै लेनदेनका क्रियाकलापका कारण व्यवहार मिलाउन नसक्दा आत्महत्याको घटना बढ्दै गएको बताउँछन् । साथै शिक्षाको कमी र सामाजिक संजालमा आउने आत्महत्याका घटनाहरूको कारण पनि आत्महत्या अझै धेरै बढेको कार्कीको तर्क छ ।

पछिल्लो समय पुरुष बढी हिंसामा पर्ने गरेको वा आर्थिक भार पुरुषले नै व्यहोर्नुपर्ने अवस्था हुँदा आर्थिक समस्याका कारण आत्महत्या गर्नेमा पुरुषको संख्या पनि बढेको कार्कीले बताए । आत्महत्या न्यूनीकरणका लागि प्रहरीको तर्फबाट प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय र टोलछिमेकमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको पनि उनले सुनाए ।

गैरसरकारी संस्था कोसिसकी वकालत अधिकारी सुनिरा लामाको अनुसार मानसिक समस्या र आर्थिक संकटको कारण अहिले आत्महत्याको घटना बढ्दै गएको हो । ९५ प्रतिशत आत्महत्याका घटना मानसिक समस्याको कारण हुने गरेको तथ्यांकमै उल्लेख रहेको उनले बताइन् । आत्महत्या रोक्न आफूहरुले आत्महत्या बारे जनचेतना जगाउनुको साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् ।

जुन उमेर समुहको व्यक्तिमा पनि आत्महत्याको बिचार आउन सक्ने कारण कुनै व्यक्तिले अरु बेला देखाउने भन्दा फरक व्यवहार देखाएको छ भने सम्बन्धित निकायलाइ खबर गर्ने वा बसेर छलफल गर्ने गर्दा आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सकिने लामाको भनाइ छ ।

विषादी विक्रेताहरुले विषादी वितरण गर्दा कस्तो उमेर समूहको लागि र कस्तो प्रयोजनको लागि हो भन्ने कुरा बुझेर बिक्री वितरण गरेर पनि आत्महत्याका घटनामा केही हद सम्म न्यूनीकरण गर्न सकिने उनले बताइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan