Search
Close this search box.

किन बढ्दैछ मकवानपुरमा बाल आत्महत्या

मन्जिता मैनाली

हेटौंडा– आत्महत्या एउटा मनोसामाजिक रोगको रुपमा विकास हुँदैछ । विश्वमै आत्महत्या एउटा चिन्ताको विषय छ । त्यसमा पनि मानसिक रुपमै परिपक्क नभइसकेका बालबालिकाले समेत आत्महत्याको बाटो रोज्ने गर्दा सकारात्मक मनोसामाजिक विकासमा चुनौती थपिएको छ । मकवानपुरमा पनि बर्सेनि दर्जनभन्दा बढी बालबालिकाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।

पछिल्ला तीन वर्षमा जिल्लामा ३७ जना बालबालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दो क्रममा देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बितेको आर्थिक वर्ष २०७८÷७९ मा मकवानपुरमा पछिल्लो समय आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दो देखिन्छ । मकवानपुर प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तीन वर्ष यताको तथ्यांक हेर्दा जिल्लामा १८ वर्षमुनिका ३७ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा मात्र १५ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमध्ये विष सेवनबाट ३ जना र झुन्डिएर १२ जना बालबालिकाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष ०७८÷०७९ मा आत्महत्या गर्ने बालबालिकाको संख्या १३ जना रहेको थियो । त्यसमध्ये अधिकांशले विष सेवनबाट ज्यान गुमाएका थिए । आर्थिक वर्ष ०७७÷०७८ मा ११ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । त्यसवर्ष विष सेवनबाट २ जना र झुन्डिएर ९ जनाले आत्महत्या गरेका थिए ।

कलिलै उमेरदेखि सामाजिक सञ्जालको प्रयोग र त्यसका पक्षलाई अवलम्बन गर्दा बालबालिकाले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीको तर्क छ । धेरैजसो बालबालिका केही कुरामा असफल भएको अवस्थामा वा मानसिक रुपमा कमजोर भएका बालबालिकाहरुले बढिजसो आत्महत्या गर्ने गरेको कार्कीको भनाइ छ ।
बालबालिकामा देखिएको आत्महत्याको घटना न्यूनीकरण गर्नका लागि विद्यालयमा सचेतनामुलक कार्यक्रमहरु लैजान सकियो भने पनि केहि हदसम्म न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए ।
बालविवाह र लागुऔसध सेवन बारे बालबालिकालाई शिक्षा दिनुको साथै कानुनी कुराहरु सिकाउँदै आत्महत्या के हो र किन गर्नु हुँदैन भन्ने बारे बालबालिकामा चेतनाको विकास गर्न सकियो भने पनि बालबालिकामा हुने आत्महत्याको घटनालाइ न्यूनीकरण गर्न सकिने कार्कीले बताए ।

गैरसरकारी संस्था कोसिसकी वकालत अधिकारी सुनिरा लामाको अनुसार बालबालिकालाई परिवारले समय दिन नसक्दा बालबालिकामा आउने एक्लोपनको कारण आत्महत्याको घटना बढ्दै गएको छ । बालबालिकालाई शिक्षामा बोझ दिनुको साथै ‘यो पढ्नै पर्छ यति यति गर्नै पर्छ’ भन्ने दवावका कारण मानसिक समस्या भई कति बालबालिकाले आत्महत्या गर्ने गरेको लामाले सुनाइन् ।

घर परिवारले समय दिन नसक्दा बालबालिकामा आउने एक्लोपनको कारण साथी खोज्दा प्रेम सम्बन्धमा पर्ने गरेको र यो समयमा बालबालिका यौन सम्बन्धी सही शिक्षा दिन नसक्दा बालबालिकाबाट हुने गल्तीको कारण पनि आत्महत्या गर्ने गरेको उनको बुझाइ छ । विषादी विक्रेताहरुले विषादी वितरण गर्दा पनि कस्तो उमेर समुहको र कस्तो प्रयोजनको लागि हो भन्ने कुरा बुझेर मात्र बिक्री गर्नुपर्ने लामाको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan