Search
Close this search box.

साढे ६६ करोडमा खुम्चियो मकवानपुरको निर्यात व्यापार

हेटौंडा– मुलुककै ठुला औद्योगिक सहरमध्येको एक हेटौंडाले भारतलगायत तेस्रो मुलुकमा गर्ने निर्यात व्यापारमा अपेक्षाकृत प्रगति गर्न सकेको छैन । हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीहरुले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामाग्री निर्यातको अवस्था भने निराशाजनक रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मकवानपुरबाट भारतलगायत तेस्रो मुलुकमा करिब साढे ६६ करोड रुपैयाँ मात्रको सामान निर्यात भएको पाइएको छ । हेटौंडामा सञ्चालित ५ वटा उद्योगहरुले बितेको आर्थिक वर्षमा ६६ करोड ४८ लाख ७९ हजार रुपैयाँ बराबरको सामग्री भारत, बंगलादेश र अष्ट्रेलिया निर्यात गरेको तथ्यांक छ । आव २०७८/०७९ मा ४ वटा उद्योगले ३ अर्ब ४ करोड रुपैयाँको औद्योगिक उत्पादन निर्यात गरेकोमा बितेको आवमा निर्यातमा भारी गिरावट आएको हो ।
बितेको आवमा प्याट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालिले निर्यातमा सबैभन्दा बढी योगदान गरेको छ ।

बहुराष्ट्रिय उद्योगहरुको पेय पदार्थको बिर्को उत्पादन गरिरहेको कम्पनीले ३१ करोड ८४ लाख रुपैयाँको सामान भारत र अष्ट्रेलिया पठाएको छ । अघिल्लो वर्ष पनि सो कम्पनीले ३१ करोड ६६ लाख रुपैयाँ बराबरको सामान निकासी गरेको थियो । प्लाष्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालि र हिमालय कत्था उद्योगको निर्यातमा आएको भारी गिरावटका कारण मकवानपुरको समग्र निर्यात व्यापार निराशाजनक बन्न पुगेको हो ।

आव २०७८/७९ मा एक अर्ब ४२ करोड ६८ हजार रुपैयाँको सामान निर्यात गरेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालिको निर्यात गत वर्ष ७२ लाख ४७ करोडमा खुम्चिएको छ । त्यस्तै आव ०७८÷७९ मा एक अर्ब २९ करोड ५० लाख रुपैयाँको सामान निर्माण गरेको हिमालय कत्था उद्योगको निर्यात पनि बितेको आव ०७९/०८० मा १७ करोड ८२ लाख रुपैयाँमा झरेको पाइएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकअनुसार बितेको केही वर्षयता विदेश निर्यात ठप्प भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिले बितेको आर्थिक वर्षमा १४ करोड ५ लाख रुपैयाँको ट्रान्सफर्मर भारत र भुटानमा निर्यात गरेको छ ।

स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले बितेको वर्ष आफ्नो निर्यात वृद्धि गरी २ करोड रुपैयाँ पु¥याएको छ । आव २०७८/०७९ मा उक्त कम्पनीले १९ लाख २० हजार रुपैयाँ बराबरको सामाग्री विदेश निर्यात गरेको थियो । बितेको वर्षबाट खजुरीको नेपाल प्रालिले पनि भारतमा आफ्ना उत्पादन परीक्षणको रुपमा निर्यात सुरु गरेको छ । कम्पनीले बितेको वर्ष एक लाख ५६ हजार रुपैयाँको बिस्कुटजन्य सामाग्री निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख गरिएको छ ।

विगत ५ वर्षअघिदेखि खस्कँदै गएको मकवानपुरको निर्यात व्यापारमा आव २०७९÷८० मा उल्लेख्य सुधार देखिएको थियो । आर्थिक मन्दीलगायतका कारण निर्यात व्यापार पुनः पुरानै स्थितिमा फर्किन थालेको उद्योग वाणिज्य संघको बुझाई छ । मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरु बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको मकवानपुर उद्योग वाणिज्य संघका सहायक अधिकृत विजय भण्डारीले बताए । ‘बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, कार्पेट उत्पादन गरी निर्यात गर्ने एमएम पोलिमर्सको निर्यात वर्षौँदेखि शून्य नै रहेको छ । दशकअघि क्रसरजन्य उत्पादनहरु, जडिबुटी, अदुवा, लसुनहरु विदेशमा निर्यात हुने गरेकोमा हाल सबै व्यापार ठप्प छ ।’ भण्डारीले भने ।

बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि हाल अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि ९ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरिसकेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले सयवटाभन्दा बढी उद्योग सञ्चालनमा छन् भने चार हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan