हेटौंडा–सँगै जीवन बिताउने अठोटका साथ बैवाहिक सम्बन्धमा बाँधिएका पतिपत्नीबीचको असमझदारी बढ्दो क्रममा देखिन्छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दाको दर बढ्दै जानुले यसको पुष्टी गर्छ ।
मकवानपुरमा एक वर्षकै अवधिमा झण्डै हजार जनाले पति वा पत्नीबाट अलग्नि चाहेको भन्दै अदालतमा मुद्दा दर्ता गरेका छन् । त्यो संख्या बिगत तीन वर्षदेखि बढ्दो क्रममा देखिन्छ । जिल्ला अदालत मकवानपुरको तथ्यांकअनुसार बितेको आर्थिक वर्ष २०७९/८० मा सम्बन्ध विच्छेदका ९ सय ७५ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सात सय ६८ मुद्दा फर्छ्यौट भएको छ भने २०७ वटा मुद्दा फछ्र्यौट हुने क्रममा रहेको छ । पछिल्लो ३ वर्षको तथ्यांक केलाउँदा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । आव २०७८/०७९ मा अदालतमा आठ सय ५९ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका थिए भने आव ०७७/०७८ मा छसय ८४ जनाले पतिपत्नीबाट अलग हुनको लागि मुद्दा दर्ता गरेका थिए ।
२०७४ मा संविधान लागू भएर २०७५ भदौ गतेदेखि नयाँ मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानुनी व्यवस्था गरेसँगै सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्दै गएको जिल्ला अदालत बार एशोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको भनाइ छ । सम्बन्ध विच्छेदसम्बन्धी धेरै मुद्दामा बहस गरेकी अधिवक्ता बस्नेतका अनुसार घरेलु हिंसा, कुटपिट, पतिले मादक पदार्थ तथा लागुपदार्थ सेवन जस्ता कारण देखाएर पत्नीले सम्बन्ध विच्छेद गर्न चाहेको बताउने गरेका छन् ।
त्यस्तै धेरै सामाजिक संजाल चलाउने, धेरै नयाँ साथीहरू बनाउने, घरको जिम्मेवारी पूरा नगर्ने, परपुरुषसँग सम्बन्ध राखेका, विदेशबाट पठाएको पैसा हिनामिना गरेको जस्ता आरोपमा पुरुषहरुले पनि पत्नीसँग सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेको अधिवक्ता बस्नेतले बताइन् । सामाजिक परिवेश खुल्ला भएको कारण सबैले स्वतन्त्रता चाहने भएको कारण सम्बन्धमा थोरै खटपट भयो कि सम्बन्ध विच्छेदलाई हल्का रुपमा लिएर सम्बन्ध विच्छेदमा गइहाल्ने प्रवृत्ति बढेको उनको तर्क छ ।
सम्बन्ध विच्छेदका कारण छोराछोरीमा धेरै नकारात्मक असर पर्ने गरेको भन्दै अधिवक्ता बस्नेतले उक्त बालक पछि दुव्र्यसनीमा फस्ने सम्भावना बढी हुने बताइन् । ‘पति वा पत्नीबाट पीडित भएर सम्बन्ध विच्छेदको लागि अघि बढ्ने र अधिकारको दुरुपयोग गरी तत्कालीन रिस र आवेगमा आइ सम्बन्ध विच्छेद गर्न आउने गरी दुई चरित्रका पतिपत्नीहरु भेटिने गरेका छन् । जे होस् सम्बन्ध विच्ेछदको घटना बढ्नु् भनेको पारिवारिक विचलन बढ्नु हो । यसले सामाजिक रुपमा असर पर्छ ।’ अधिवक्ता बस्नेतले भनिन् ।

