काठमाडौँ- हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा ललितपुर प्रहरीले एक युवती र तीन युवकसहित चार जनालाई पक्राउ गरेको छ।
झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेको ललितपुर प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकी अनिताले फेसबुकमा पुरूषहरुसँग च्याट गरेर विभिन्न होटलमा बोलाउने गरेको र पछि दीपकले ब्ल्याकमेलिङ गर्ने गर्थे। दीपकसँग प्रेसकार्डसमेत बरामद भएको र उनले गृहमन्त्रालयको प्रेस सल्लाहकार भएको दाबी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।
बिमल र सरोजले पनि ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको छ।
बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ। उनीहरुले अर्का पीडितसँग लिएको ३ लाख २५ हजारको चेक पनि प्रहरीले बरामद गरेको छ।
उनीहरुलाई ललितपुर अदालतबाट पाँच दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

