हेटौंडा–उच्च अदालत पाटन, हेटौंडा इजलाशबाट एक आर्थिक वर्षमा एक हजार तीन सय वटा मुद्दा फछ्र्याट गरेको छ । आर्थिक वर्ष ०७९÷०८० मा नयाँ दर्ता भएको मुद्दा र जिम्मेवारी सरी आएको मुद्दा गरी कुल एक हजार सात सय ४१ वटा मुद्दामध्ये उच्च अदालतले ७५ दशमलव ३६ प्रतिशत मुद्दा फैसला गरेको हो ।
अदालतले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुले एक वर्षको अवधिमा गरेका कामहरुको बारेमा जानकारी गराएको हो । उच्च अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ५ सय ४५ वटा मुद्दा रहेका थिए भने गत वर्षमा नयाँ एक हजार एक सय ९६ वटा मुद्दा पुनरावेदनका लागि दर्ता भएको थियो । अदालतमा ६ महिना भित्रको बाँकी मुद्धा ३ सय १९, ६ महिना देखि एक वर्ष भित्रको ८० वटा, एक वर्ष देखि १८ महिनाभित्रको २९ वटा र १८ महिनाभित्रका एक मात्र मुद्धा बाँकी रहेको उच्च अदालत पाटन, हेटौंडा इजलाशका रजिष्टार जगदिशप्रसाद भट्टले जानकारी दिए ।
गत वर्ष पुनरावेदनका लागि दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै लागूऔषधसम्बन्धी रहेका छन् । गत वर्ष दर्ता भएकामध्ये २ सय ८९ वटा मुद्दा लागुऔषधको भएको रजिष्टार भट्टले बताए । बितेको वर्ष हेटौंडा इजलाशले ६१ वटा मुद्दा मेलमिलापका लागि पठाइएकोमा ७ वटा मात्र मेलमिलाप गर्न सकिएको बताइएको छ । २ वटा मेलमिलापको क्रममा रहेको छ । ७ जना न्यायधीशको दरबन्दी रहेको हेटौंडा इजलाशमा हाल ४ जना न्यायधीश रहेका छन् ।
पत्रकारहरुसँगको भेटघाटमा न्यायधीश राजेश्वरी तिवारीले अदालत र जनमानसबीचको सम्बन्ध बलियो र विश्वसनीय बनाउनको लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । निष्पक्ष न्याय निरुपणमा अदालतले अपनाइरहेको विधि र प्रविधिको प्रयोगको विषयमा न्यायधीश तिवारीले जानकारी गराए । हेटौंडा इजलाशमा मुख्य भई कार्य गर्ने न्यायधीश अब्दुल अजिज मुसलमानले अदालतले बढीमा २ वर्षभित्र मुद्दा फैसला गर्ने नीति लिएको जानकारी दिँदै हाल हेटौंडा इजलाशमा १८ महिनाभन्दा माथिका कुनै मुद्दा नरहेको बताए ।
अदालतमा आउने सेवाग्राहीको काम बढीमा एक घण्टाभित्र सकेर पठाउने पठाउने नियमलाई कडाईका साथ पालना गरिएको पनि उनले सुनाए । पत्रकार भेटघाट कार्यक्रममा न्यायधीश मेरिना श्रेष्ठ र निर्मला शाक्यको पनि सहभागिता रहेको थियो ।

